हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडामा संचालित शिवम् सिमेण्ट उद्योगमा कोरोनाको जोखिम न्युनीकरणका लागि स्वास्थ्य मापदण्ड पुरा गरे, नगरेकोबारे स्थलगत अनुगमन गरेको छ ।

संक्रमितको अवस्था, स्वास्थ्य मापदण्ड पुरा गरे, नगरेको लगायतको विषयमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उद्योगका प्रतिनिधीसँग स्थलगत जानकारी लिएका हुन् । संचालकका अनुसार हाल उद्योगमा उत्पादन कम भएकाले थोरै कामदारबाट कारखाना संचालन भएको देखिएको भन्दै प्रजिअ पाण्डेले अनुगमनका क्रममा सामाजिक दुरी लयगातका मापदण्ड पुरा गरेको पाइएको बताए ।

उनले उद्योगले संचालन गरेको आइसोलेशन वार्डको समेत अनुगमन गरेका थिए । अनुगमनका क्रममा उद्योगले आफैले संचालन गरेको आइसोलेशनमा आफ्ना संक्रमित कर्मचारीको उपचार गरेको पाइयो । अनुगमन पश्चात प्रजिअ पाण्डेले उद्योग परिसरभित्र सबै मजदुरलाई स्वास्थ्य मापदण्ड पुरा गर्न गराउन आवश्य सामग्री उपलब्धताको लागि उद्योगका प्रतिनिधी सरोज बिडारीलाई निर्देशन दिए ।

शिवम् सिमेन्टले संचालन गरेको आइसोलेसनमा रहेका १३ जना संक्रमित कर्मचारी मध्ये १२ जना निको भएर काममा फर्किएका छन्, भने एक जना अझै आइसोलेशनमा छन् ।