अञ्जली थापा/हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व तथा विभिन्न संघ, संस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले संचालन गर्न लागेको ३० शैयाको पल्पसा आइसोलेशन सेन्टरको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाका कोरोना संक्रमितलाई चिकित्सकको परामर्श, अक्सिजन लगायत आवश्यक सबै किसिमको सहयोग जुटाउँदै आएको कोभिड हेल्प डेस्कले अब संक्रमितलाई उपचारको लागि आइसोलेशनको समेत व्यवस्था गरेको हो ।

अस्पतालको क्षमताभन्दा बढी बिरामी भएर निजी अस्पतालमा उपचार गर्न बाध्य भएका निम्न आय भएका बिरामीलाई उपचार सेवा दिने उदेश्यले उक्त आइसोलेसनको व्यवस्था गरिएको मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष एबम् कोभिड हेल्प डेस्कका संयोजक कृष्ण कटुवालले बताए । उनले भने, ‘कोभिड संक्रमितलाई भेट्ने क्रममा उपचार र आइसोलेटमा समस्या देखियो, निजि अस्पतालमा उपचार महंगो हुने समेत गुनासो आएकोले हामीले यसलाई मध्यनजर गरेर आइसोलेशनको व्यवस्था मिलाएका हौं ।’ उनले थपे, ‘हामी संक्रमितको लागि सबै सेवा दिन सक्षम र तयार छौं ।’

कोभिड हेल्प डेस्कका सचिवालय सदस्य सरोज खनालले जिल्ला अस्पतालमा उपलब्ध शैया कम भएको कारणले कसैको ज्यान नजाओस् भन्ने उदेश्यले आइसोलेशन संचालन गर्न लागिएको बताए । उनले भने, ‘घरदैलोको क्रममा हामीले संक्रमितहरुको अवस्था भयावह नै देख्यौं, एउटै कोठामा ४/५ जनाको परिवार छ, स्वास्थ्य सामग्री छैन, मापदण्ड अनुसार बस्ने ठाँऊ छैन र गम्भीर अवस्थामा अस्पताल जाने खर्च छैन यस्तो अवस्थामा हामीले आइसोलेसन संचालनको अरु बिकल्प देखेनौं ।’

हेटौंडामा मात्र नभएर जिल्लाभरीका संक्रमितलाई सेवा दिन रातदिन खटिरहेको उनको भनाई छ । गाउँपालिकाहरुमा समेत अक्सिजन लगायत स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइरहेको उनले जानकारी दिए । हेल्प डेस्कका स्वास्थ्यकर्मीले फोन सम्पर्क गरी संक्रमितको अवस्थाको रिपोर्ट संकलन गर्दै आएका छन् ।