हेटौंडाः मकवानपुरको हर्नामाडीस्थित ज्योति माविमा अध्ययनरत विद्यार्थीलाई लोक छन्दको प्रशिक्षण दिइएको छ । गत साताबाट हरेक हप्ताको मङ्गलबार आयोजना गर्ने गरी सुरु गरिएको साहित्यिक प्रशिक्षण अभियान अन्तर्गत मंगलबार लोक छन्दको प्रशिक्षण आयोजना गरिएको विद्यालयका सहायक प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले जानकारी दिए ।

साहित्यमा रुची राख्ने विद्यार्थीहरुलाई लक्षित गरी विद्यालयको आयोजनामा भर्चुअल माध्यम (जुम) मार्फत लोक छन्दको प्रशिक्षण सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलको अध्यक्षता एवम् हेटौँडा उपमहानगरपालिका १८ का अध्यक्ष अनिल बानियाँको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षणमा झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष एवम् साहित्यिक अभियन्ता दीपक गौतमले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । प्रशिक्षक गौतमले लोक छन्द अन्तर्गत बालोरी, सेलो, सबाई, झ्याउरे छन्द अन्तर्गतका ७ किसिमका छन्दहरूको प्रयोगात्मक अभ्याससहित प्रशिक्षण दिए ।

प्रशिक्षणमा ज्योति माविका प्रधानाध्यापक जयराम थापा, निवर्तमान प्रधानाध्यापक शरदकुमार श्रेष्ठ, सहायक प्रधानाध्यापक भुपेन्द्र चौलागाईँ, अङ्ग्रेजी विभागीय प्रमुख उमेश पराजुली, अनु रोक्का लगायत कक्षा १ देखि १२ सम्मका ११५ जना विद्यार्थीको उपस्थिति रहेको थियो । विद्यार्थीमा पढाइका साथमा अतिरिक्त क्रियाकलाप अन्तर्गत साहित्य लेखन तथा पठन संस्कृतिको विकास गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक जयराम थापाले बताए ।