हेटौंडाः मिडिया हाउसमा प्रहरी प्रवेश गरी पत्रकार माथि धरपकड गरेको भन्दै फोनिज बागमति प्रदेशले विरोध गरेको छ । नागरिकको सूचनाको पहुँचका लागि क्रियाशिल उज्यालो नेटवर्क डटकमको काठमाण्डौं अनामनगरमा रहेको कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारहरुलाई पक्राउ गरेको घटनामा विरोध जनाउँदै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), बागमती प्रदेशले विज्ञप्ति जारी गरेर बिरोध जनाएको हो ।
उज्यालो नेटवर्क डटकमको कार्यालयमा प्रहरी प्रवेश गरी कार्यकारी सम्पादक अनिस तामाङ र महाप्रबन्धक दुर्गालाल तामाङलाई पक्राउ गरी सोही सञ्चार गृहका अन्य पत्रकार माथि धरपकड गर्ने, सञ्चार सामाग्री खोस्ने जस्ता निन्दनीय कार्य गरेको भन्दै फोनिजले यस्ता कार्य तत्काल रोक्न सरकारलाई आग्रह गरेको हो । फोनिज, बागमती प्रदेशका महासचिव सुरजकुमार भुजेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पत्रकारले समाचार लेखेकै कारण प्रहरी सञ्चार गृहमा प्रवेश गरी पत्रकारमाथि धरपकड गर्ने, सञ्चार सामाग्री खोस्ने र पक्राउ गर्नु प्रेस स्वतन्त्रता विरोधी कार्य भएको ठहरसहित उक्त घटनाको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समिति घोर निन्दा गर्दछ ।’
संविधानले पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरेको अवस्थामा समेत यस्ता घटना हुनु निन्दनीय भएको फोनिजको ठहर छ । विज्ञप्तिमा भनिएको छ, ‘उज्यालो नेटवर्कले यस अघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअका प्रमुखबीच गोप्य सहमति भएको भनी समाचार प्रकाशन गरेकोमा यस सम्बन्धी विवाद प्रेस काउन्सिल नेपालले निरुपण गरिसकेको, उच्च अदालतले उक्त समाचार लेखेकै आधारमा पत्रकारमाथि धरपकड नगर्न आदेश दिइसकेको सन्दर्भमा सोही समाचारका विषयलाई लिएर पत्रकारलाई पक्राउ गर्नु, धरपकड गर्नु प्रेस स्वतन्त्रताको ठाडो उलंघन र निरंकुशनता प्रदर्शनी हो ।’
साथै, पत्रकार अनिस तामाङ र महाप्रबन्धक दुर्गालाल तामाङलाई बिनाशर्त अविलम्ब रिहा गर्न र खोसिएका सञ्चार सामाग्री फिर्ता गर्न नेपाल आदिवासी जनजाति पत्रकार महासंंघ (फोनिज)ले माग गरेको छ । फोनिजले यस प्रकारको प्रेस स्वतन्त्रता विरोधी कार्य रोक्न समेत आग्रह गरेको छ । समाचारका विषयमा चित्त नबुझे उजुरी लिने र आवश्यक कारबाही गर्ने सम्पूर्ण जिम्मेवारी प्रेस काउन्सिललाई रहँदारहँदै एक्कासी मिडिया हाउसमा प्रहरी छिर्नु निन्दनीय भएको भन्दै चौतर्फी बिरोध भइरहेको छ ।