हेटौंडाः हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल पदमुक्त भएका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नै अस्पतालको व्यवस्थापन हुने पत्र प्राप्त भएपछि पदमुक्त बनेका पौडेलले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना केही योजना अधुरै रहेको बताएका हुन् ।
आफू चार वर्षे कार्यकालका लागि जिम्मेवारीमा पुगे पनि फरक परिस्थितिका कारण यहि बैशाख ५ गतेबाट आफू पदमुक्त भएको पत्र प्राप्त भएको उनले जनाए । उनले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रमा सुधारका लागि शुरु गरिएका केही कार्यहरु सम्पन्न भएपनि धेरै कामहरु अधुरै रहेको बताए ।
अस्पतालमा आफू जिम्मेवारीमा जाँदा भवन वरिपरिको सरसफाई कार्यबाट सुधार थालिएको उनले बताए । स्वास्थ्य कर्मचारीको सहज व्यवस्थापन, नयाँ थप भवन निर्माणमा सहजिकरण, अइसीयु व्यवस्थापन लगायतका कार्य आफ्नो कार्यकालमा भएको निवर्तमान अध्यक्ष पौडेलले बताए ।
आफ्नो कार्यकालमा कोभिड–१९ को संकटपूर्ण अवस्था आएकोमा आफूले सफलतापूर्वक जिम्मेवारी निर्वाह गरेको उनले उल्लेख गरे । कोभिडको समयमा जिम्मेवारीमा रहँदा थुप्रै सामाजिक संघ, संस्था एवम् व्यक्तिहरुबाट स्वास्थ्य तथा प्राविधिक सामग्रीहरु प्राप्त भएको उनले जानकारी दिए । कोभिडको कठिन व्यवस्थापनको समयमा सक्दो सहयोग गर्ने सम्पूर्णलाई उनले धन्यवाद व्यक्त गरे ।
पत्रकार सम्मेलनमा बोल्दै आफू पदमुक्त भएपनि जिल्लाको स्वास्थ्य क्षेत्र सुधारका लागि निरन्तर निगरानी र सहयोग गर्ने निवर्तमान अध्यक्ष पौडेलले उल्लेख गरे ।