हेटौंडाः नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका उपाध्यक्ष ध्रुब अधिकारीलाई पितृशोक परेको छ । अधिकारीका बुवा मकवानपुरगढी गाउँपालिका–३ निवासी ६७ वर्षीय कृष्ण प्रसाद अधिकारीको सोमबार साँझ हेटौंडा अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
अधिकारीका पिता कृष्णप्रसाद जण्डिस र पित्तथैलीको क्यान्सरबाट ग्रसित थिए । उनको सोमबार राति हेटौंडा–१० स्थित गोरक्षश्वर तटमा दाहसंस्कार गरिएको छ । दिवंगत अधिकारीका दुइ छोरा, श्रीमती छन् । शोकको यो घडीमा नेपाल पत्रकार महासंघले शोक वक्तव्य जारी गरेको छ । महासंघ बागमती प्रदेश र मकवानपुर जिल्ला शाखाले शोक वक्तव्य जारी गरेको हो ।
महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु मगरले शोक वक्तव्य जारी गर्दै भनेका छन्, ‘दिवंगत अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनामा गहिरो समवेदना ब्यक्त गर्दछौं ।’ यस्तै, महासंघ जिल्ला शाखाले पनि शोक वक्तव्य जारी गरेको छ । अध्यक्ष मणिराज गौतमले शोक वक्तव्य जारी गर्दै दिवंगत अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै, शोकमा रहेको परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस निकट नेपाल किसान संघ मकवानपुरगढी गाउँपालिका सभापति र कांग्रेस साविक गढी–५ का पूर्व सभापति समेत रहेका अधिकारीको निधनमा नेपाली कांग्रेसले राप्तितटमा मौन धारण गरेको थियो । नेपाली कांग्रेस मकवानपुरका पूर्व उपसभापति नारायण लम्साल, जिल्ला सदस्य गोपि अधिकारी र अर्जुनप्रसाद दाहालले अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए ।