हेटौंडाः नेकपाभित्र चुलिएको विवादसँगै सर्वोच्च अदालतको निर्णयले दुई पार्टी ब्युँतिएपछि एमाले र माओवादी पार्टीको छुट्टाछुट्टै कार्यालय सञ्चालन हुने क्रम जारी छ । यसै क्रममा शनिबार नेकपा (माओवादी केन्द्र)ले हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा वडा पार्टी कार्यालय उद्घाटन गरेको छ ।
यस क्रममा हेटौंडा–८, कमानेमा वडा पार्टी कार्यलय उद्घाटन भएको छ । सो पार्टीका जिल्ला अध्यक्ष प्रेम बहादुर पुलामीले रिवन काटेर कार्यालय उद्घाटन गरेका हुन् । पार्टीका वडा अध्यक्ष राम बहादुर दुलालको अध्यतामा सञ्चालन भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यता रहेको थियो ।
यसैगरी वडा नम्बर–९ मा पनि नेकपा (माओवादी केन्द्र)को वडा पार्टी कार्यालय उद्घाटन गरिएको छ । माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य ललित घलानले ९ नम्बर वडा पार्टी कार्यालय उद्घाटन गरेका हुन् । प्रदेश कमिटी सदस्य घलानको प्रमुख आतिथ्यमा कार्यालय उद्घाटन लगत्तै पार्टी वडाध्यक्ष विष्णु राणाको अध्यक्षतामा बसेको वडा कमिटी बिस्तारित बैठकले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) वडा भेला संयोजक मञ्जु देवकोटालाई र योङ्ग कम्युनिस्ट लिग नेपाल वडा भेला संयोजकमा किरण सुवेदीलाई तोकिएको सो पार्टीका नगर अध्यक्ष तिर्थ थापाले जनाए ।
कार्यक्रममा जिल्ला सचिवालय सदस्य तथा हेटौंडा उपमहानगरपालिका पार्टी इन्चार्ज विवेक राई, सचिवालय सदस्य तथा मकवानपुर युवा इन्चार्ज सुमन पाख्रिन, बालकृष्ण चौलागाईं, जिल्ला सदस्य प्रकाश पौडेल, रामशरण घिमेरे, ज्ञानेन्द्र लामेछाने, नगर अध्यक्ष तिर्थ थापा मगर, नगर सचिवालय सदस्य धर्म पुडासैनी लगायतको उपस्थिति रहेको थियो ।