हेटौंडाः राष्ट्रिय कविता वाचन प्रतियोगितामा आधुनिक राष्ट्रिय माविमा अध्ययनरत वर्षा महतो विजेता बनेकी छन् । अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा ८ मार्चका दिन भर्चुअल माध्यमबाट आयोजित कविता वाचन प्रतियोगितामा सहभागी सातै प्रदेशका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै वर्षाले उपाधि हात पारेकी हुन् । उनी बागमती प्रदेश अन्तर्गत जिल्लाकै नमूना सामुदायिक विद्यालयको रुपमा पचिरित मकवानुरको हेटौंडास्थित आधुनिकमा अध्ययनरत छात्रा हुन् ।
“नेतृत्वमा महिलाः कोभिड–१९ पछिको विश्वमा समान अवसर” भन्ने विषयमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा महिलाको संघर्ष, महिला नेतृत्व, कोभिड–१९ को विपदमा महिलाले खेलेको भूमिका आदि विषयमा विद्यार्थीहरुले कविता वाचन गरेका थिए । प्रस्तुत कवितामा मूल्यांकन गर्दै आधुनिककी महतोलाई निर्णायकहरुको टोलीले बिजेता घोषित गरेको हो । निर्णायकहरुमा चर्चित कवि योगेन्द्र यादव, बिमला तुम्खेवा र दीपक रौनियार थिए । महतोको कविता “नारी नई छै केक्रो पर भारि”ले महिलाहरुलाई बोझ होइन बरु सशक्तिकरणको रुपमा चित्रित गरेको निर्णायकको ठहर छ ।
जन नमुना माध्यमिक विद्यालय कर्णाली प्रदेशकी पूजा पाठकले महिलाको सुरक्षा, सम्मान र रोजगरः समृद्ध नेपालको आधार” शिर्षकको कविताबाट द्वितीय स्थान हासिल गरिन् । त्यस्तै अमर माध्यमिक विद्यालय गण्डकी प्रदेशकी सृजना सापकोटा “नेतृत्व हो नारी को” र दमकदा नवदीप माध्यमिक विद्यालय लुम्बिनी प्रदेशकी सपना भण्डारीले “नेपाल र नारी” शिर्षकको कविताका लागि तेस्रो पुरस्कार हात पारे । शीर्ष तीन विजेताहरुका लागि रचनात्मक क्षमता बृद्धि गराउन कार्यशालामा सहभागी गराइने आयोजकले जनाएको छ ।
कार्यक्रममा मन्तव्य दिँदै यूएनडीपीका आवासीय प्रतिनिधि आयनी मेडागोंगोदा लेबले भने, “हामी रातो बंगाला फाउण्डेशनका साथ युवा कविहरुलाई रचनात्मक क्षमतामा प्रोत्साहित गर्न र लैंगिक समानता सहित समाजको मानसिकता परिवर्तनका लागि प्रोत्साहित गर्न पाउँदा खुसी छौं ।” त्यसैगरी रातो बंगला फाउण्डेशनका अध्यक्ष शान्ता दीक्षितले बाल्यकालको विकासको आवश्यकता र बालबालिकालाई शुरुवाती चरणदेखि नै लैंगिक समानताको बारेमा शिक्षित गराउनुपर्नेमा जोड दिए ।
प्रदेश १ अन्तर्गत जलकल्याण माध्यमिक विद्यालयकी यसोदा सुवेदी र जनता माध्यमिक विद्यालयका नागेन्द्र धिमाल, प्रदेश २ अन्तर्गत जनता मोडल टेक्निकल माध्यमिक विद्यालयका प्रीति ठाकुर र महुन्यल माध्यमिक विद्यालय सुदुरपश्चिम प्रदशकी ललिता जोशी प्रतियोगिताको फाइनलमा पुगेका थिए । विद्यार्थीहरुलाई कविता मार्फत रचनात्मक रुपले आफ्नो विचार व्यक्त गर्न र लैंगिक समानतामा चेतना जगाउन प्रोत्साहित गर्ने उद्देश्यका साथ युएनडिपी र रातो बंगला फाउण्डेशनले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा सातै प्रदेशका विद्यार्थीहरुले भाग लिएका थिए ।