हेटौंडाः विश्वभरका महिलाहरुले ८ मार्चका दिन सोमबार एकसाथ १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा हेटौंडामा पुरुष पदयात्रा भएको छ । महिला हिंसा बिरुद्ध आयोजित पदयात्रामा सामाजिक अभियन्ताहरु सहभागी थिए ।

कार्यक्रम अन्तर्गत अधिकारकर्मीहरु हेटौंडाको शितल महल चोकबाट पारिजातपथ, स्कूलरोड, सीमाचोक हुँदै बुद्धचोकमा पुगेर सभा गरिएको सामाजिक अभियन्ता प्रकाश खतिवडाले जानकारी दिए । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिले सम्बोधन गर्दै लैंगिक हिंसा न्यूनीकरणका लागि उदाहरणीय कार्यक्रम रहेको बताए । १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना आदानप्रदान गर्दै कार्यक्रममा दीप प्रज्वलन समेत गरिएको थियो ।

लैंगिक समानताका लागि पुरुष सहभागिता सञ्जाल नेपालले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा मानव अधिकार संरक्षण तथा मानव बेचविखन बिरुद्धको सञ्जाल मकवानपुरले पनि सहकार्य गरेको थियो ।