हेटौंडाः मकवानपुरमा राष्ट्रिय दलित पत्रकार संघ नेपालको शाखा विस्तार भएको छ । संघको प्रथम जिल्ला भेलाबाट अन्नपूर्ण पोष्टकर्मी शुभलक्ष्मी विश्वकर्माको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा रूपक कलिराज (हजुरको खबर डटकम), सचिवमा शान्ति सुनार (रेडियो मकवानपुर), सहसचिवमा युवराज विश्वकर्मा (रेडियो मकवानपुर) र कोषाध्यक्षमा पारू परियार (रेडियो अनमोल) चयन भएका छन् । समितिको सदस्यहरूमा प्रज्वनी सुनार (रेडियो अनमोल), सिमा सुनार (हजुरको खबर डटकम), विश्व सुनार र प्रशंसा सुनार सर्वसम्मत रूपमा चयन भएका छन् ।
नेपाल पत्रकार महासंघ मकवानपुरकी सहसचिव समेत रहेकी शुभलक्ष्मी विश्वकर्माको अध्यक्षतामा सो भेला सम्पन्न भएको थियो । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सभाहलमा आयोजना भएको उक्त कार्यक्रममा संघका बागमती प्रदेश उपाध्यक्ष कमल कुमार विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

भेलामा शुभकामना मन्तव्य दिँदै प्रमुख अतिथि विश्वकर्माले दलित समुदायका पत्रकारहरूको हकहितका लागि सदैव यस संघ अग्रसर रहनेमा विश्वस्त रहेको बताए । विश्वकर्माले मिडियामा समावेशीकरण हुनुपर्ने साथै मिडियामा दलित समुदायका पत्रकारहरूको भौतिक उपस्थितिको सवालमा यस संघले पहलकदमी गर्ने विश्वास दिलाए । यस संघले दलित समुदायका पत्रकारहरूलाई सिकाउने, बिकाउने र टिकाउने सवालमा काम गर्ने विश्वकर्माले बताए ।

कार्यक्रमको विशिष्ट अतिथि रहेका नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईंले संघले आम श्रमजीवि पत्रकारहरूका लागि महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए । अध्यक्ष हुमागाईंले पत्रकार महासंघले दलित पत्रकार संघलाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । पत्रकार महासंघको आसन्न निर्वाचनमा समेत दलित समुदायबाट नेतृत्वदायी भूमिका निर्वाह हुनेमा आफू विश्वस्त रहेको अध्यक्ष हुमागाईंको भनाई थियो ।

कार्यक्रममा अग्रज पत्रकार कृष्णराम परियारले निष्पक्ष पत्रकारिता गर्न सबैमा आग्रह गरे । उनले कुनैपनि विषयको समाचार हतारमा प्रकाशन र प्रसारण नगर्न समेत आग्रह गरे । संघका चितवन जिल्ला अध्यक्ष अमिर रामदामले समावेशीकरण, सामाजिक न्याय, मानवअधिकारको मुद्दाका साथै मकवानपुरको आम उत्पीडित वर्ग समुदायको आवाजलाई सशक्त रुपमा मिडियामा ल्याउन यस मकवानपुर शाखाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

नवनिर्वाचित उपाध्यक्ष रुपक कालिराजले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा चितवन जिल्ला सचिव श्याम विश्वकर्माको आतिथ्यता रहेको थियो । भेलामा जिल्लास्थित विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरु सहभागी भएका थिए ।