हेटौंडा: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले प्रधानमन्त्रीको गलत निर्णयको कारण सबैले सजाय भोग्न बाध्य हुनुपरेको बताएका छन् । नेकपा निकट प्रेस सङ्गठन नेपालका इञ्चार्ज भट्टराईले हेटौँडामा आयोजित सङ्गठनको दोस्रो प्रादेशिक भेलालाई सोमबार सम्बोधन गर्दै नेतृत्वको गलत निर्णयका कारण देशले दुर्गती भोग्नुपरेको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले भने, ‘कहिलेकाहीँ भीडले गलत नेतृत्व चयन गर्छ र देशलाई हानी हुन्छ । हामीले ओलीलाई पार्टीको र सिंगो मुलुकको नेतृत्व गर्न दियौं, केपी ओलीको गलत निर्णयको सजाय आज सिंगो जमातले भोगिरहेको छ ।’
नेकपाकै विगतलाई स्मरण गर्दै उनले भने, ‘एक समय भीडले नेता चुनेको केशरजंग रायमाझीले एकदिन क्रान्तिलाई धोका दिए, पछि पुष्पलाललाई नेतृत्व चयन गरियो ।’ कम्युनिष्ट विचार र कार्यकर्ताको भावनाको नेतृत्व गर्ने व्यक्ति हुँदाहुँदै पनि पुस्पलाललाई त्यतिबेला नेतृत्व गर्ने अवसर नदिइएको र नेतृत्व गर्ने अवसर पाएका रायमाझीले पछि आन्दोलनलाई धोका दिएको उनको भनाई थियो ।

रायमाझीसँग प्रधानन्त्री ओलीलाई तुलना गर्दै नेता भट्टराईले ओलीले आन्दोलनलाई धोका दिएको आरोप लगाए । ओली कुर्सीमोह र व्यक्तिगत स्वार्थमा लीन भएको आरोप लगाउँदै उनले भने, ‘ओलीसँग नैतिकता छ भने पदलोभ त्याग गरेर आन्दोलनको रक्षा गर्नुपर्छ । सिंगो आन्दोलनको माया छ भने आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर आन्दोलनमा आउनुपर्छ ।’
ओलीको व्यवहारले व्यवस्थाप्रति धोका दिएको भन्दै उनले प्रायश्चित गरेर नयाँ मार्ग प्रशस्त गर्नुपर्ने बताए । उनले भने, ‘अझै आशावादी छु । त्यो अवस्था नभए आन्दोलनले गलत मान्छेलाई सँधै साथ दिइराख्दैन ।’ प्रतिनिधिसभालाई आन्दोलन र क्रान्तिको प्रतीकको रुपमा व्याख्या गर्दै उनले सबैको प्रतिनिधिमूलक सहभागिता रहेको आन्दोलन र क्रान्तिको प्रतीकलाई नै सिध्याउनेसँग देशको नेतृत्व गर्ने नैतिक आधार नभएको स्पष्ट पारे ।

उनले सञ्चारमाध्यम एवं पत्रकारिताले लोकतान्त्रिक गणतन्त्र र संविधानका पक्षमा काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बागमती प्रदेशसभा सदस्यद्वय मुनु सिग्देल र ओम ग्लानले पत्रकार पूर्ण स्वतन्त्र र राज्यप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए । प्रेस सङ्गठनका सहइञ्चार्ज ओम शर्मा र सहसंयोजक विष्णु रिजालले मुलुकमा पूर्ण प्रेस स्वतन्त्रता आवश्यक रहेको बताए ।