हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सिमान्तकृत अल्पसंख्यक समुदायका महिलालाई समेटेर कार्यक्रम गरिने भएको छ ।

बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखेको अध्यक्षतामा सोमबार बसेको अभियान तयारी बैठकले राइ, माझी लगायत यहाँका सिमान्तकृत अल्पसंख्यक समुदायका महिला सहितको प्रतिनिधित्व रहने गरी कार्यशाला सञ्चालन गर्ने निर्णय गरेको हो । अभियान अन्तर्गत गाउँपालिकाले सबै वडाका जातिगत प्रतिनिधि रहने गरी स्थानीय महिला, बालबालिका समेटेर कार्यक्रम गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाले आयोजना गर्ने कार्यशालालाई सफल बनाउन स्थानीय रुपमा कार्यरत संघ, संस्थाले पनि सहकार्य गर्ने भएका छन् । कोभिड–१९ ले महिला तथा बालबालिकामा पारेको मनोसामाजिक असर र न्यूनीकरणका विषयमा पालिकास्तरीय कार्यशाला गर्न लागिएको उपाध्यक्ष बोलखेले जानकारी दिइन् ।

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म हरेक वर्ष अन्तर्राष्ट्रिय रुपमा लैंगिक हिंसा बिरुद्धको दिवस मनाउने गरिएको छ । ‘लैंगिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ देशभर सञ्चालन हुने अभियान अन्तर्गत गाउँपालिकामा हुने कार्यक्रम सफल पार्न यहाँका जनप्रतिनिधि, स्थानीय रुपमा कार्यरत संघ, संस्थाका प्रतिनिधि लगायत सरोकारवालाहरुको बैठक बसेको हो ।