हेटौंडाः सालको पातबाट तयार हुने दुना टपरीको बजारीकरणका लागि बिहिबार हेटौंडामा सरोकारवालाहरुबीच अन्तरक्रिया भएको छ । स्थानीय महिलाहरुले तयार गर्ने सो उत्पादनबाट प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा न्युनीकरण हुनुका साथै हरित शहर निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

महिलाहरुलाई सक्षम बनाउनको लागि आर्थिक सशक्तिकरणमा जोड दिने क्रममा अस्मीता नेपालले दुना टपरीलाई उद्यमको रुपमा विकास गर्न सहयोग गर्दै आएकोमा व्यवसाय प्रबद्र्धनको लागि सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रमका वक्ताहरुले हरित उद्यमको प्रबद्र्धनका लागि स्थानीय सरकारले चासो दिनुपर्ने भन्दै आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा प्रस्तुती दिँदै अस्मीता नेपालकी कार्यक्रम संयोजक अञ्जली थापाले हेटौंडा बजारको ठोस फोहोरमध्ये ९ दशमलब २ प्रतिशत फोहोर प्लास्टिक रहेको एक तथ्याङकले देखाएको जनाइन् ।

प्लास्टिकजन्य सामग्रीले मानिसको स्वास्थ्यका साथै वातावरणमा समेत प्रभाव पर्ने भएकाले यसको विकल्प खोज्नु आवश्यक रहेकोमा अस्मिता नेपालकी अध्यक्ष आरती पाठकको जोड थियो । प्लास्टिकको विकल्पका रुपमा अन्य झोलाहरुको प्रयोग, होटल तथा पसलहरुमा प्लास्टिकको सामग्री भन्दा टपरी दुना लगायतका सामाग्री प्रयोग गर्न सकिए हरित शहरको विकास गर्न सकिने अध्यक्ष पाठकको भनाइ छ । सालको पात, नरिवलको पात लगायतबाट उत्पादित सामग्रीहरु प्रयोग गर्न सके महिलाहरुलाई व्यवसायिक बनाउन सकिनुका साथै स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिए ।

होटल एशोसिएशन मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठले प्लास्टिकको बिकल्प खोज्दै गर्दा प्लास्टिक उद्योगहरुलाइ पनि विकल्प दिनुपर्ने बताए । वातावरण र मानिसको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने यस्ता व्यवसायहरुलाई हेटौंडाका व्यवसायीहरुले साथ दिन कार्यक्रममा उपस्थित व्यवसायी महिलाहरुले आग्रह गरे । कार्यक्रममा उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष माधव न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, युवा उद्यमी प्रतिमा श्रेष्ठ, विभन्न संघ संस्थाका प्रतिनिधि, दुना टपरी व्यवसायी महिला लगायत होटल व्यवसायीहरुको उपस्थिति रहेको थियो ।