हेटौंडाः स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारको माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा जनमत जुट्ने क्रम बढेको छ । सरकारले उनको मागबारे बेवास्ता गरेपछि जनस्तरबाट माग सुनुवाईका लागि दवाव बढेको हो ।

यसैबीच हेटौंडामा पनि डा. केसीको माग सम्बोधन गरिनुपर्ने भन्दै विभिन्न समुहले दवावमूलक प्रदर्शन गरिरहेका छन् । बुधबार सर्जक सञ्जाल मकवानपुरको आयोजनामा प्रदर्शन भएको छ । मकवानपुरका साहित्यिक संस्थाहरुको साझा सर्जक सञ्जालले डा. केसीको पक्षमा प्रदर्शन गरेको हो । कार्यक्रममा सहभागी साहित्यकारहरुले व्यानर र पम्पेल्टसहित हेटौंडा बजारका विभिन्न स्थानमा र्याली प्रर्दशन गरे । साहित्य संगम मकवानपुरको भवन भैरवरोडबाट सुरु भएको र्याली बजारको विभिन्न स्थान हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो ।

र्यालीमा सहभागी साहित्यकारहरुले केसीको पक्षमा प्रशासन कार्यालयमा २४ मिनेट धर्ना दिएको सञ्जालका अध्यक्ष निमेष निखिलले जानकारी दिए । उनका अनुसार डा. गोविन्द केसी आमरण अनसनमा बसेको आज २४औं दिन भएकोले माग सम्बोधन गरि अनशन तोड्न दवाव दिने उद्देश्यले प्रशासन कार्यालयमा दिइएको हो । सञ्जालले धर्नापछि प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । कार्यक्रममा साहित्य संगम मकवानपुर, आँचल साहित्य कला पुञ्ज, झरना साहित्य परिवार, गजल मञ्च, मातृभूमि साहित्य समाज लगायत संघसंस्थामा आबद्ध साहित्यकारहरुको सहभागिता थियो ।

यस्तै, केही दिनदेखि हेटौंडाका युवाहरुको समुहले साँझ हेटौंडाको बुद्ध चोकमा स्वस्फुर्त भेला भई मौन प्रदर्शन गरिरहेका छन् । जुम्लामा १९‌औं चरणको सत्याग्रह सुरु गरेका डा. केसीले अघि सार्दै आएको ६ बुँदे माग पूरा गर्नका लागि दवावस्वरुप उनीहरुले प्रदर्शन गरेका हुन् । दुर्गममा मेडिकल कलेज खोल्नुपर्ने, विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्ने लगायतका माग राख्दै अनसन बसेका उनको कुरामा सरकारले कुनै चासो नदेखएको भन्दै प्रदर्शनकारीहरुले खेद प्रकट गरे । डा. केसीको जीवन रक्षासँगै माग पूरा गर्न भन्दै यहाँका युवाले डा. केसी व्यक्ति हैन आवाज हो जस्ता नारा लेखिएका पर्चा प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।