हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्थानीय तहहरु आर्थिक रुपमा सक्षम हुनुपर्नेमा जोड दिएका छन् । मकवानपुरको बकैया गाउँपालिकामा आइतबार अनुगमनका क्रममा उनले प्राकृतिक स्रोत साधनको उपयोग गरी स्थानीय तहहरु आर्थिक रुपमा सक्षम बन्न सके अरुको मुख ताकेर बस्नु नपर्ने भन्दै स्थानीय तहहरु आर्थिक रुपमा सम्पन्न बन्न जरुरी रहेकोमा जोड दिएका हुन् ।

प्रमुख खुलालले जनतालाई सिंह दरबारको प्रत्याभूति दिलाउनका लागि स्थानीय तहहरुले स्रोतको खोजी गरेर आम्दानी बृद्धि गर्न योजनाबद्ध ढंगले काम गर्नुपर्ने र आम्दानी बृद्धि गरेर आर्थिक रुपमा सक्षम बन्नुपर्ने बताए । उनले स्थानीय तहहरु दिगो विकासका लक्ष्य प्राप्ति र सुखी नेपाली, समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने समेत बताए । उनले भौतिक विकास मात्रले सामाजिक रुपान्तरण सम्भव नभएको भन्दै समाजमा मानिसहरुको सोँचलाई उन्नत बनाउन सक्नुपर्नेमा जोड दिए । दिगो र टिकाउ विकासमा स्थानीय तहहरु लाग्नुपर्ने उनको थियो ।
जिल्ला समन्वय समितिले चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिकको अनुगमनका क्रममा आईतबार बकैया गाउँपालिकाको अनुगमन गरेको हो । अनुगमनमा गाउँपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट कार्यान्वयनका लागि गरेका काम (लागत अनुमान, उपभोक्ता समिति गठन, सम्झौताको अवस्था, कोभिडको प्रभाव) लगायत विषयमा जानकारी लिनुका साथै आवश्यक परामर्श समेत दिएको छ ।

आनुगमन टोलीलाई बकैया गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले समग्र अवस्थाका बारेमा जानकारी गराएका थिए । सो क्रममा गाउँपालिकाका उपाध्यक्ष सरला बोलखेले जिससबाट भएको अनुगमन प्रभावकारी भएको धारणा राखिन् । अनुगमनले स्थानीय तहलाई झक्झकाउने काम गर्ने भन्दै उपाध्यक्ष बोलखेले पहिलो चौमासिकमा भएको अनुगमनले प्रभावकारी काम गर्न उत्साह मिल्ने उनले बताइन् ।

सो क्रममा प्रमुख प्रसासकिय अधिकृत लक्ष्मण पुडासैनीले चालु आर्थिक वर्षका लागि कुल ७१ करोड ४७ लाख ६५ हजार बराबरको बजेट पारित गरेको जानकारी दिए । उनले बजेट कार्यान्वयनका लागि स्टिमेट तयारी, उपभोक्ता समिति गठन, सम्झौता लगायतका काम अगाडी बढेको भन्दै आगामी मंसिरसम्म ३३ वटा ठूला योजनाहरु सम्झौता गर्ने गरि काम अगाडी बढाइएको जानकारी दिए । त्यस्तै असोज २० गतेसम्म सबै योजनाहरुको उपभोक्ता समिति गठनको समयावधि दिएर समयमै बजेट कार्यान्वयन गर्ने गरि काम अगाडी बढाईएको उनले बताए । उनका अनुसार गाउँपालिकाले हालसम्म १६ वटा ऐन, ४ वटा नियमावली र २२ वटा कार्यविधि/निर्देशिका गरि ४७ वटा कानुन निर्माण गरेको छ । गाउँपालिकाले सुशासनका सन्र्दभमा सबै वडा कार्यालय र गाउँपािलकामा गुनासो पेटीका राखेको, सबै वडालाई विद्युतीय प्रणालीमा आवद्ध गराउन लागिएको, विद्यालयमा ई हाजिरीको व्यवस्था जस्ता अभ्यास गरिएको छ ।

छलफलमा सहभागी वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले स्थानीय तहबाट जनताले पाउने सेवा सुविधा राम्रोसँग प्रवाह भएको, विकास निर्माणका कार्यहरु दु्रत रुपमा अगाडी बढेको, विद्युत विस्तार, सडक सञ्जाल, स्वास्थ्य, शिक्षा, कृषिलगायतका क्षेत्रमा व्यवस्थित काम भएको धारणा राखे । उहाँहरुले यी सबै हुँदाहुँदै पनि केन्द्रीय तथा प्रदेश सरकारबाट संघीयत खुम्च्याउने कामहरु भएको गुनासो समेत गरे । छाम्दा भेटिने र हेर्दा देखिने स्थानीय सरकारलाई खुलेर काम गर्ने वातावरण सृजना गर्नुपर्नेमा जनप्रतिनिधिहरुको जोड थियो । वन कार्यालयका कारण विकास निर्माणको काममा अवरोध सृजना भएको साथै विभिन्न एकल अधिकारमा संघ र प्रदेश सरकारले हस्तक्षेप गरेका कारण समस्या भएको जनप्रतिनिधिहरुको गुनासो थियो ।

कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनीले स्थानीय तहलाई सक्षम बनाउन जिल्ला समन्वय समिति मकवानपुरले सहजीकरण गरेको बताइन् । अनुगमन टोलीमा जिसस सदस्य देवराज रिमाल, नायब सुब्बा उपेन्द्र पोख्रेल, गाउँ कार्यपालिकाका सदस्यहरु, कर्मचारीहरु लगायत सहभागी थिए ।