-शिव पौडेल

शिव पौडेल/झण्डै २ बर्षपछि स्वदेश फिर्ने साइत जुर्यो । स्वदेश फर्किने भनेपछि मन त्यसै फुरुङ्ग हुने भइहाल्यो । एक–एक पल गन्दागन्दै हिँड्ने दिन पनि आइपुग्यो । अब नफर्किने भन्ने सोच भएपछि झिटिकुटुरा सबै झोलामा कोचियो । कोभिड १९ स्पेसल ट्रेनमा सिट पहिलै बुकिङ गरिएको थियो ।

समय सारिणी अनुसार स्टेसनमा पुगियो र बिना कठिनाई रेल चढियो । भारत बसाइको २०औं बर्षपछि सहज र सुबिधाजन्य हिसाबले यात्रा गर्न पाएको अनुभूति यो पहिलो र सायद आखिरी पनि होला । कोरोना भाइरसको कारण भारतीय रेलवेमा उल्लेखनीय सुधार भएछ । संकटलाई समाधान गर्ने बाटो सुदृढ हुनु पनि हो भन्ने एउटा राम्रो उदाहरण यहाँ देख्न पाइयो ।

३१ घन्टा रेल र ४ घण्टा ट्याक्सी यात्रा गरि जम्मा ३५ घन्टामा नेपाल सिमा कृष्णनगर भित्रीयौं । नेपाल प्रवेश गरेपछि पहिलो चेकपोस्टमा प्रहरी साथीलाई १६० रुपैयाँको चिया खुवाएपछि झोला खोल्नुपरेन । सदाझैँ रेक्सावालाहरु हात र झोला तान्न यसपटक पनि आए । बसका स्टाफहरु प्यासिन्जर खोज्न सिमानेरै पुगेका थिए । होटल मालिकहरु पनि उसैगरी हात समाउदै ‘खाना खाउँ, हिँड्नुस्, बस अहिले एक घन्टा रोकिन्छ’ भनेर फकाउँदै थिए । हिँड्दै बस भएको ठाउँ पुगियो । सशस्त्रका साथीहरू यात्रीहरुका नाम ठेगाना टिप्दै थिए । कुन ठाँउबाट आएको, कहिले गएको, किन गएको, के काम गरेको र कहाँ जाने भनेर नालिबेली सोध्दा रहेछन् । खोइ के कति आवस्यकताले हो सबैलाई यहि कुरा नबिराई सोध्दै थिए । यसबाहेक त्यहाँ कुनै सोसल डिस्टेन्सिङ थिएन । मास्क नलगाएकालाई जरिवाना गरेको देखिएन । दुइटा सिटमा एकजना प्यासिन्जर बसाल्ने र ५० प्रतिशत भाडा बढी लिने भन्ने सरकारी आदेशको पालना गरे गराएको पाइएन । बस फुल नहोउन्जेल नहिँड्ने भएपछि हाम्रो ३ घन्टा त्यसै बित्यो । तर, बस अझै पनि भरिएन । २० जना प्यासिन्जर लिएर गाडी गुड्यो त्यहाँबाट ।

तर, एउटा मान्छे बसको स्टाफले झैँ प्यासिन्जर जम्मा पार्दै थियो बसपार्कमा । त्यो त रहेछ होटेल मालिक । अनि लग्यो आफ्नो होटेल अगाडि । बस फेरि रोकियो । भात कसैले खाए । कसैले खाइदिए । जेहोस्, होटल साहुले ४/५ हजारको सेल गर्‍यो ।
बस छुटेपछि अलिपर फेरि एउटा चेकपोस्ट आयो । प्रहरी साथी गाडीमा चढे । ‘कहाँबाट आएको? कहाँ जाने?’ भन्ने प्रश्न गर्दै सर्लक्क डुलेर फर्किने बेलामा एक एक जना मात्र बसाल्नुस है दुइजना ठीक भएन भन्दै झरे । कन्डक्टरले सुन्यो कि सुनेन थाहै भएन । आधा यात्रा पुरा गरेपछि कण्डक्टर भाडा उठाउन आयो । प्रहरी पोस्टमा देविस्थानसम्मको प्रतिव्यक्ति ३०० भाडा लेखिएको भए पनि उसले ७०० माग्यो । मैले प्रतिवाद गरें । ‘प्रहरीले भनेर हुँदैन, हामी कसरी बाँच्ने ? प्यासिन्जर पुरा पाउँदैन, पाएको जति राख्दा प्रहरी कराउँछ, यत्रो खर्च गरेर गाडी गुडाउन सकिन्न हजुर’ भन्न थाल्यो । कतिबेर बहस गर्नु । झरेर अर्को गाडी पाउने होकि होईन । हामीलाई गाउँतिर उक्लिने गाडी भेटाउन ढिलो हुँदै थियो,अनि तिरियो ६/६ सय ।

गाडी रोकिएको ठाउँमा पानी बेच्ने, मुङफली बेच्ने, फ्रुट बेच्नेहरु उक्लिन्थे । हल्काफुल्का सेल गर्थे र झर्थे । हामी गाउँभन्दा तलको फेदिमा उत्रीयौं, गाउँतिर उक्लिने गाडी आएर रोकियो । हामी इन्डियाबाट आएकालाई चढ्न नदिने निर्णय पहिल्यै भएको रहेछ । सार्वजनिक गाडीमा चढ्न नदिने भन्ने यस्तो उर्दी पहिलोपटक सुन्नुपर्दा रिस र हाँसो एकैसाथ उठ्यो । अनि साहुलाई सोधें, यो निर्णय तपाईं आफ्नो कि अरु कसैको ? उनले भने, ‘मैले वडा प्रतिनिधिलाई सोधेको हुँ, उनीहरुलाई नल्याउनु भनेका छन् । यदि मैले लिएर गएँ भने गाउँमा पुग्दा त्यहाँका मान्छेले मलाई ढुंगाले हान्नेछन् । त्यसैले तपाईहरु अरु केही उपाए गरि आउनुस् ।’

साँझ सवा चार बजिसकेको थियो । यही एउटा गाडी बाहेक अर्को कुनै साधन थिएन । झण्डै ४० घन्टाको यात्राले शरीर थाकेर लखतरान भएको थियो । दुइटा झोला बोकेर उकालो अढाइ घन्टाको बाटो हिँड्न असम्भव जस्तै थियो । भारतको लामो बसाइमा कम हिँडाइ डुलाइले शरीर ब्रोइलर कुखुरा जस्तो ढिलो लथरो भएको थियो । अनि मैले आफै समाधानको उपाय निकालें । ‘हामी भित्र बस्दैनौं, हुटमा बसौंला हुन्छ? त्यति पनि हुँदैन भने भन्नुस् ।’ हुन्न भनेपछिको एक्सनबारे मैले सोचिसकेको थिएँ । उनले ‘हुन्छ’ भनेपछि चढियो ।

सरकारी आदेश अनुसार ५० प्रतिशत भाडा बढाएर लिइदोरहेछ तर यात्री जति पायो उति कोच्दा रहेछन् । त्यहाँ कुनै दुरी बनाएको देखिएन । न त सबैले मास्क नै लगाएका थिए । त्यसबाहेक कसैलाई कहाँबाट आएको भनेर सोधिएको थिएन । तर हामी मुम्बईबाट आउँदै गरेको सुचनाले हामीलाई यस्तो अपहेलना गरिएको रहेछ । टोलमा पुगेर उत्रीयौं । त्यहाँसम्म लाग्ने भाडा डेढसय नै मागे र हामीले दियौं पनि । भाडा लिँदा कोरोना सर्ला भन्ने उनलाई लागेन सायद ।

बस बिसौनिसम्म लिन आएका थिए छोराछोरी । दुईवटा झोला एक–एक उचालेर लगे । म पछिपछि लागें । दुरी कायमै थियो । टोलका मानिसहरू हामीलाई यसरी हेर्दै थिए कि मानौं हामी कुनै साधारण मानिस नभएर कुख्यात अपराधी हौं । हेर्नेहरु कानेखुसी गर्दै सकपकाइ रहेका थिए । बोलेपछी नजिकै पो आइहाल्ने होकि झैं गरि पर–पर सर्दै थिए । दायाँबायाँ प्रहरी थिएनन् । हत्कडी पनि लगाइएको थिएन । तर, हामीलाई कैदीलाई हेर्ने नजरले हेरिँदै थियो । मानसिक हत्कडीले बाँधेर हामीलाई क्वारेन्टाइन नामको जेलमा लगिँदै थियो ।

मेरो लागि पल्लो भुइँकोठा तोकिएको रहेछ । सामान त्यहीँ ठगानियो । यसभन्दा पहिले उक्त कोठामा कृषि औजार लगायत पाठापाठी पनि थुन्ने गरिन्थ्यो । मलाई पनि त्यही हैसियतमा राखियो । अर्थात जुत्ता राख्ने स्ट्यान्डमा टोपी राखियो । समय र परिस्थितिको माग भनिए पनि मनले सहज रूपमा नलिँदो रहेछ । किन आइएछ बेकारमा, कि फर्केर जाउँ? समाज त परको कुरा पर्‍यो । घरमा पनि पहिलेको भन्दा भिन्न अनुभूत गरियो । मर्न मन कसैलाई लाग्दैन । डर लाग्नु स्वाभाविक नै हो । ‘यसलाई कोरोना नै छ, मरे एक्लै मरोस तर, हामीलाई नसारोस’ भन्ने खालको भाव परिवार सदस्यमा पनि पाइएपछि आफ्नो घर आफ्नोजस्तो लागेन । आदर सत्कार सम्मान र रेखदेख सबै प्रर्याप्त छ तर एउटा पाहुनालाई गरिने खालको । आफ्नै घरमा पाहुना बन्नु कता–कता नमिठो लाग्ने रहेछ।

मैले कोभिड–१९ बारे भारत बस्दा धेरै बुझ्ने कोशिश गरें । बरिस्ठ बिज्ञहरुका बिचार र अनुभव पनि सुनें, पढें । बिश्व स्वास्थ्य संगठनको बेला कुबेलामा फेरिने राय, धारणा र निर्देशन पनि सुन्दै बुझ्दै आएँ । भारत सरकारले चालेका हरेक नयाँ कदम र नियम पनि हेर्दै बुझ्दै आइयो । त्यहाँको सुरुको, मध्यको र अहिलेको अवस्था पनि फरक हुँदै आएको छ । रोग फैलिनु पहिले जनजीवन अप्ठ्यारोमा थियो, फैलिँदै गएपछि सहज हुँदै आएको छ । किनकी कोरोना कहिँ जानेवाला छैन, यो यहीँ रहन्छ र यसको साथ साथै प्रत्येक नागरिकले बाँच्न सिक्नु र सक्नुपर्छ भन्ने सरकार र आम धारणा बनिसकेपछी त्यहाँको जीवन सहज हुँदै गएको हो । कोरोना व्यापक छ तर डर भागिसकेको छ । महामारी योभन्दा ठूलो भोकमरीको हुनसक्ने खतरा भारत सरकारले पहिलै बुझेर त्यस अनुसारको रणनीति अपनाइ सकेको छ । म आफू त्यहीँ बसें, बुझें, भोगें र अनुभुत पनि गरें । कोरोना कुनै महामारी होइन । यो साधारण फ्लू हो । लाग्दैमा मरिहाल्ने हुँदैन । बिना औषधि करोडौं मानिस ठिक भएका छन् । कृटिकल केस मात्र एक प्रतिशत छ । फ्लू लागिहाले पनि उनान्सय प्रतिशत जिवित रहने आशा र सम्भावना जिवित छ । म यो यथार्थ सबैलाई अबगत हुनुपर्छ र डर भगाउनुपर्छ भन्ने धारणा सहित स्वदेश आएको हुँ ।

म खुब जागरण फैलाउन कस्सिएको मान्छे, आफै अन्धबिश्वासिको जालमा जेलिन पुगें । म कसैलाई रोग सरिहालोस भन्ने चाहन्न तर यति बिघ्न डराउन र आतंकित हुन हुँदैन भन्नेमा दृढ छु । जिवनलाई यति कष्टकर बनाउनु हुँदैन । मान्छेले मान्छेलाई घृणा गर्ने यो परिपाटीको अन्त्य हुनुपर्छ । सामाजिक सभ्यतालाई नै चुनौती दिने यस्तो व्यवहार हुन हुँदैन भनेर चेतना फैलाउन निस्केको भए पनि आफै घेराबन्दीमा परें ।

चोट जसलाई लाग्छ पीडा उसैलाई हुन्छ । साथी तथा आफन्त भन्छन्, यसलाई सहज रूपमा लिनुपर्छ, यो परिस्थितिको माग हो । तर, यो सहज छैन । भोग्नेलाई थाहा हुन्छ । सहजलाई असहज बनाइन खोजेपछि त्यो झन् असह्य बन्छ । मलाई बस्न खान कुनै कठिनाई छैन । तर, मान्छेको जात चेतनशील प्राणी भएकोले खाएर बसेर मात्र बाँच्न सक्दैनँ । मानवका यदि कुनै कुरा अति प्रिय छ, भने त्यो आत्मसम्मान हो । यसमै चोट लाग्दा असह्य पीडा हुँदोरहेछ । परिवारको कुनै सदस्य पसलमा सामान लिन जाँदा पसलेले ‘यहाँ नआउनु’ भनेर कासन दिँदा मानव चेतनाले कस्तो चिताउँछ होला ? हामी ‘भारतबाट आएको कारण विद्यालय बन्द गर्नुपर्छ’, भनेर हेडमास्टरले भन्छ भने त्यो सुन्दा कस्तो अनुभूत हुन्छ होला ? त्यो अनुभूत मैले गरेको छु ।

म बसेको समाज शिक्षितहरुको समाज हो । विद्यालय, स्वास्थ्यचौकी र वडा कार्यालय सबै यही टोलमा छन् । समाजका पढेलेखेका मान्छेको हातमा स्थानीय सत्ता छ । समाजका हरेक क्रियाकलापमा पूर्व सभासदको समेत निगरानी हुन्छ । उहाँहरुको निर्देशन बिरुद्ध कोही जाँदैन । तर, अहिले मान्छेले मान्छेप्रति गर्ने घृणाप्रति उहाँहरुको फरक मत हुन सकेन । उहिले कुष्ठरोगीलाई बाजे बराजुले गरेको त्यो व्यवहार अहिले सग्लो र स्वस्थ मानिसलाई गरिँदैछ जो अत्यन्तै दुराशयपूर्ण छ ।
व्यापारी बजार–बजार घुम्छ । अनेकौं पसलबाट सामान ओसार्छ र असंख्य मानिसलाई बेच्छ । दिनभरि हजारौं मान्छेलाई भेटेर साँझ घर आउँछ र पूरा परिवारसँग सँगै खाएर सुत्छ । गाडीवाला साहु अनेकौं यात्रीलाई गाडीमा बसाल्छ ओराल्छ । पैसा लिन्छ । होटेलमा खान्छ, झुन्ड झुन्डमा झुम्मिन्छ र साँझ गएर परिवारसँग बस्छ, खान्छ, सुत्छ । विभिन्न पार्टीका नेताहरू कहिले यो जिल्ला जान्छन्, कहिले उ जिल्ला । कहिले बैठक गर्छन्, कहिले भेला । कहिले एक्लै हिँड्दैनन् । तापनि उनीहरुलाई परिवार, आफन्त वा उनी बसेको समाजमा कुनै दुरी कायम गरिँदैन । उनीहरुलाई पुरै खुला छ । स्वतन्त्र छन् । उनीहरुलाई कहिले क्वारेन्टाइन बस्नुपर्दैन । अझ उनीहरु नै नियम बनाउँछन् र निजी कानुनका कोर्रा हान्छन् । के यो सही हो ? के उनीहरुबाट कोरोना सर्दैन ? के नेपालमा कोरोना छैन ? क्वारेन्टाइन नामको जेल भारतबाट आउनेका लागि मात्रै हो ? कोभिड जताततै छ, भने क्वारेन्टाइन भारतबाट आउनेलाई मात्र किन ?

बन्द गर घृणाको व्यापार । बन्द गर आतंक फैलाउन । बन्द गर बिभेदकारी नियम बनाउन । आत्मसम्मान आफुलाई पनि प्यारो लाग्छ, भने अरुको पनि अपमान नगर । कसैलाई घृणा गरेर उसको अगाडि आफू घृणित नबन । अन्यायले सिमा नाघ्यो भने स्थिति भोली अर्कै बन्न सक्छ ।