हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका– ६ को सिमखोला नजिक सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आईतबार दिउँसो हेटौंडाबाट काठमाडौंतर्फ जाँदै ना १ ज ४१०६ नम्बरको सुमो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको र थप एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार दिउँसो करिब १२ बजेको समयमा भिमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी–६ चिसापानीगढी नजिक सडकबाट सुमो करिब डेढ सय मिटर तल खसेको थियो । दुर्घटनामा हेटौंडा पदमपोखरी बस्ने २५ वर्षीय भीम बहादुर थिङ र मकवानपुर ठेगाना रहेका अर्का २६ वर्षीय राजन राना मगरको घटनास्थलमै मृत्यु भएको थियो । झापा डोरपानी ५ बस्ने २९ वर्षीय देवी कुमारी गिरी घटनामा गम्भीर घाइते भई हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सुमोमा एक बालकसहित ८ जना सवार रहेकोमा सामान्य घाइतेहरुको भीमफेदीस्थित स्वास्थ्यचौकीमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका रौतहत रंगपुर ५ बस्ने २९ वर्षीय सुजन कुमार काफ्ले र मकवानपुरगढी गाउँपालिका–४ बस्ने २७ वर्षीय सोमबहादुर गुरुङको उपचारका लागि हेटौंडा अस्पतालबाट चुरेहिल पठाइएकोमा चुरेहिल अस्पतालले थप उपचारको लागि भरतपुर रेफर गरेको छ ।