हेटौंडाः हरेक महिनाको तेस्रो शनिबार मासिक भेटघाट तथा रचना वाचन गर्दै आएको आँचल साहित्य कला पुञ्ज मकवानपुरले यसपटक मुक्तककार भवानी न्यौपाने तिमल्सिनाको मुक्तक वाचन कार्यक्रम सम्पन्न गरेको छ । आज शनिबारको दिन भर्चुअल माध्यम जुम मार्फत कार्यक्रम भएको हो ।

विशेषगरी महिला साहित्यकारहरू मात्र उपस्थित हुने सो कार्यक्रम भर्खरै लेखनमा लागेका महिलाहरू निर्धक्क अरु सामु खुलेर आफ्नो प्रतिभा प्रस्तुत गर्नका लागि सक्षम बनाउने उद्देश्यले सञ्चालनमा रहेको हो । साहित्यकार उषा शेरचनको प्रमुख आतिथ्य तथा साहित्यकार प्रभा बरालको विशिष्ट आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा भवानी न्यौपाने तिम्सिनाको मुक्तकहरू माथि समीक्षा गर्दै मुक्तककार गौरी तमुले लेखेर नै इतिहास रचिने भएको हुँदा लेख्नु पर्ने र त्यसलाई कृतिको रुपमा पाठक सामु ल्याउनु पर्ने कुरामा जोड दिइन् ।

साहित्यकारले आफैँसँग प्रतिस्पर्धा गर्नु पर्ने भएकाले साहित्य लेखनमा साहित्यकारको आफ्नै अनुहार आउनुपर्ने भन्दै साहित्यकार उषा शेरचनले गृहणी र जागिरे जीवनलाई यथावत सञ्चालन गर्दै मन मस्तिष्कलाई छुन सक्ने साहित्य रचना गर्नु महिलाहरूको लागि चुनौती रहेको धारणा राखिन् । चुनौतीका बीचबाटै सफलता प्राप्ति हुने हुँदा निरन्तर लेखनीमा लाग्न र अध्ययनशील हुन पनि उनले अनुरोध गरिन् ।

कार्यक्रममा समालोचक कुमारी लामा, आँचलकी संस्थापक अध्यक्ष मुना अर्याल, गजलकार अम्बिका कार्की, कवि सुमित्रा सुमी, अनिता अर्याल नेपाल, ज्योतसना श्रेष्ठ, एलिजा पुडासैनी, सविता तिमल्सिना, भावना सापकोटा, सिर्जना पौडेल, अनु रोक्का, जयन्ती आचार्य लगायतले रचना वाचन गरेका थिए । संस्थाकी कार्यवाहक अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाकी सहसचिव नीरा शर्माले कार्यक्रम माथि प्रकाश पार्दै उपस्थित सम्पूर्णलाई स्वागत गरेकी थिइन् ।