राहत वितरण गरिँदै

हेटौंडाः महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको नारी संरक्षण केन्द्रले खाद्य संकटमा रहेका ७० घर परिवारलाई राहत वितरण गरेको छ । संस्थाले दाल, चामाल, सोयाविन, तेल, मसला, डिटोल साबुन, सेनेटरी प्याड सहितको राहत प्याकेज वितरण गरेको हो ।

राहत वितरण गरिँदै

केन्द्रले निरन्तर शैशिक सहयोग प्रदान गर्दै आएका ६० जना बालबालिकाको परिवार र यसै संस्थाबाट सिलाई तालिम लिएका १० जना महिलाहरुको परिवार गरि ७० घर परिवारलाई राहत वितरण गरेको नारी संरक्षण केन्द्रका कार्यक्रम संयोजक राम मिजारले बताए । संस्थाकी अध्यक्ष दिपा गुरुङको अध्यक्षतामा सञ्चालित राहत वितरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो ।

सहयोग हस्तान्तरण गर्दै अध्यक्ष सिग्देलले अहिलेको समयमा कोभिड–१९ रोगको महामारीका कारण संकट र पीडामा रहेका परिवारलाई सहयोग गरेकोमा प्रशंसा गरे । केन्द्रले समय सापेक्ष कार्यक्रम गरि सहयोग गरेको भन्दै उनले नारी सरक्षण केन्द्र नागरिकको हितको लागि उत्तरदायी र जिम्मेवार छ भन्ने भाव देखिएको बताए ।

वि.सं. २०५८ सालमा दर्ता भई महिला बालबालिकाको क्षेत्रमा निरन्तर क्रियाशिल रहँदै आएको नारी संरक्षण केन्द्रले फ्रेण्ड्स अफ डब्लू पि सी नेपालको आर्थिक सहयोगमा राहत वितरण गरेको हो ।