हेटौंडाः मकवानपुरमा दैनिक रुपमा कोरोना संक्रमणको दर बढिरहेको बेला जिल्ला प्रशासन कार्यालय मकवानपुरले संक्रमणको जोखिम कम गर्न घरमै बसेर चाडपर्व मनाउन अनुरोध गरेको छ । बिहिबार सूचना जारी गरी प्रशासनले यस वर्षको चाडपर्वहरु नजिकिने क्रम सुरु भएको बताउँदै आ–आफ्नै घरमा बसेर जनस्वास्थ्यको मापदण्ड पालना गरी आफ्नो परिवारका सदस्यहरु मात्र संलग्न हुने गरी चाडपर्वहरु मनाउन अनुरोध गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी देवचन्द्र गर्तौलाले सूचना जारी गर्दै यस्तो अनुरोध गरेका हुन् । सूचनामा दैनिक नित्य पूजा बाहेक अन्य कुनै पनि गतिविधि संचालन नगर्न र नगराउन अनुरोध गरिएको छ ।

संक्रमणको जोखिम न्युनीकरण गर्न हेटौंडा उपमहानरपालिका पुरै र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा निषेधज्ञा जारी भईरहेको भन्दै निषेधाज्ञा प्रभावकारी रुपमा पालना भइरहेको पनि सूचनामा जनाईएको छ । जिल्लामा संक्रमणको जोखिम बढेपछि मकवानपुर प्रशासनले भदौ ९ गते राति १२ बजेसम्मका लागि निषेधज्ञा जारी गरेको थियो ।