हेटौंडाः नजिकिँदै गरेको तीजको सन्दर्भमा आँचल साहित्य कला पुञ्ज मकवानपुरले सचेतनामुलक कार्यक्रम गरेको छ । तीजविशेष कार्यक्रममा लेखक तथा अभियन्ता राधा पौडेलको पुस्तक अपवित्र रगतमाथि चर्चा तथा महिनावारी केन्द्रित बहस सञ्चालन गरेको हो ।

भर्चुअल माध्यमबाट भएको कार्यक्रममा लेखक राधा पौडेल र सहजकर्ता तथा आँचलकी सचिव भावना सापकोटाबीच बहस भएको थियो । महिनावारीको विषयमा भएको बहसमा पौडेलले नेपाली समाज निकै पछाडि रहेको, छुइप्रथाका कारण महिलाहरू सहज ढङ्गले अगाडि बढ्ने वातावरण समाजले निर्माण गर्न नसकेको र त्यसलाई चिर्न महिलामा आँट जरुरी रहेको बताइन् । यस सन्दर्भमा पुरुषको साथ सहयोग अनिवार्य रहेकोमा उनले जोड दिइन् । पौडेलले महिलाहरू स्वास्थ्य सचेततामा अग्रसर हुनुपर्ने र समाज तथा राष्ट्रले महिलामैत्री व्यवहार प्रदर्शन गर्नुपर्ने बताइन् । पौडेल ‘खलंगामा हमला’ पुस्तकको लागि मदन पुरस्कार बिजेता लेखक हुन्।

आँचलको आयोजनामा भएको सो कार्यक्रममा कवि टीका आत्रेयले ‘सृष्टि मसी’ शीर्षकको कविता वाचन गरिन् । पूर्व मिस नेपाल तथा मर्यादित महिनावारीकी अभियन्ता शृङ्खला खतिवडाले नेपाली महिलाहरूको महिनावारी सम्मानित हुन नसकेको र यसरी पिछडिएको समाज परिवर्तन हुनुपर्ने धारणा व्यक्त गरिन्। आँचलकी सहसचिव नीरा शर्माले समीक्षकीय टीप्पणी राखेको सो कार्यक्रमको सञ्चालन सविता तिमल्सिनाले गरेकी थिइन् ।

आँचलकी कार्यवाहक अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा आँचलकी कोषाध्यक्ष शुभद्रा हुँममगाईँले स्वागत मन्तव्य व्यक्त गरिन् । जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मकवानपुरका स्थानीय तहका उपप्रमुखहरू सहभागी थिए ।