हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल शनिबार सिन्धुपाल्चोकको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित पुगेका छन् ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको २ लिदीका पहिरो प्रभावित परिवारका लागि स्वास्थ्य सामाग्री, राहत सामग्री तथा अत्यावश्यक सामग्रीसहित मुख्यमन्त्रीको टोली त्यहाँ पुगेको हो ।
मुख्यमन्त्री पौडेलले घटनास्थल पुगेर त्यहाँको स्थलगत निरीक्षणपछि सो क्षेत्रमा खानेपानीका पाइप, अस्थाई शौचालय सामग्री, दैनिक उपभोग्य खाद्य सामग्रीको व्यवस्था गरिएको थियो । हाल सो क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयले उद्धारका काम जारी राखेका थिए । थप सहयोगका लागि नेपाली सेनाको एउटा टुकडी हेलीकप्टरमार्फत सो क्षेत्रमा पुगेको छ ।
मुख्यमन्त्री पौडेलले तत्काल अस्थाई बासस्थान राहत र क्षतिपूर्ति उपलब्ध गराउने बताए । स्थानीयले उक्त गाउँ मानव बस्तीको लागि उपयुक्त नभएको भन्दै मुख्यमन्त्रीलाई बस्ती सार्न माग गरेका छन् । मुख्यमन्त्री पौडेलले स्थानीयको मागअनुसार बस्ती स्थानान्तरण गरिने जानकारी दिए ।

सो क्षेत्रका बस्ती स्थानान्तरणका लागि उपयुक्त जमिनको खोजी गरी सकेसम्म छिटो अगाडी बढाईने मुख्यमन्त्रीको भनाई छ । सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुको अरु केही विकल्प पनि नभएको उनले बताए । उनले भने, ‘हामी स्थानान्तरण मात्र हैन, जिविकोपार्जन गर्ने रोजगारी हुने गरी स्थानान्तरण गर्नुपर्छ ।’ स्थानीयहरुलाई परेको बिपत्तिमा सरकारले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।


त्यहाँको अवस्थाबारे प्रदेश सभा सदस्य एवम् बागमती प्रदेशका अर्थ विकास समिति सभापति शरेस नेपाल, जुगल गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङ लगायतले मुख्यमन्त्री पौडेललाई जानकारी गराए । टोलीमा मुख्यमन्त्री पौडेलसहित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल, पुर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका अर्थ तथा विकास समिति शरेस नेपाल, प्रदेशका प्रमुख सचिव मानबहादुर बिके, मध्यपृतनापति ताराध्वज पाण्डे, बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी वसन्त लामा लगायत सहभागी थिए । सो क्षेत्रमा अहिले सय ७२ घर धुरी छन् । ३६ घर पूर्णरुपमा क्षति भएको छ । हालसम्म १६ जनाको शब फेला परिसकेको छ, भने २३ जना अझै बेपत्ता छन् ।