हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा ४ का कुलबहादुर मगर (रोहन)लाई बचाउन अपील गर्दै स्थानीय युवाहरुले सक्रियता बढाएका छन् ।

३४ वर्षका मगरलाई शरीरको मांसपेशी कमाजोर हुँदै जाने (Guillain Baree Syndrome) जस्तो गम्भिर प्रकृतिको रोग लागेको र उपचारको लागि लाखौं रुपैयाँ खर्च हुने भएपछि आफुहरुले सहयोगको अपील गरेको सहयोग समितिका संयोजक प्रकाश सुबेदीले बताए ।

रोहन हाल चितवनको भरतपुर अस्पतालमा उपचार गरिरहेका छन् । स्थानीयका अनुसार उनको आर्थिक अवस्था निकै कमजोर छ । उनलाई बचाउनको लागि आर्थिक सहयोग गरिदिन आग्रह गर्दै सुवेदीले भने, ‘तपाईंहरुको सानो सहयोगले पनि एकजना युवाको ज्यान बच्छ, त्यसैले सकेको सहयोग गरिदिनुहुनको लागि अनुरोध गर्दछु ।’

वैदेशिक रोजगारीबाट फर्किएका उनमा केही समयदेखि उक्त समस्या देखिएपछि चितवनमा उपचार गराइएको हो । उनको थप उपचार चाँडै गर्नुपर्ने भएपनि उपचार खर्चको अभावका कारण समस्या भएकोले उपचारमा सहयोगको अपील गरिएको हो ।