हेटौंडा/नेपाल पत्रकार महासंघको राष्ट्रिय भेला हेटौंडामा गर्ने निर्णय भएसँगै तयारी तीब्र पारिएको छ । केन्द्रीय समितिको बैठकले महासंघको राष्ट्रिय भेला बागमती प्रदेशको राजधानी हेटौंडामा गर्ने निर्णय गरेकोमा सो निर्णयको स्वागत गर्दै जिल्ला शाखाले कार्यक्रमको तयारी थालेको हो ।
मकवानपुर जिल्ला शाखाको शनिबार सम्पन्न नियमित बैठकमा भेलाको तयारीस्वरुप विभिन्न उपसमितिहरु गठन गरिएको अध्यक्ष हरि हुमागाईंले बताए । अध्यक्ष हुमागाईंका अनुसार आगामी भदौ २ र ३ गते हेटौंडामा राष्ट्रिय भेला तोकिएकोले कार्यक्रम व्यवस्थापनका लागि विभिन्न ५ वटा उपसमितिहरु गठन गरिएको हो ।
महासंघको राष्ट्रिय भेलाका लागि जिल्ला शाखाले व्यवस्थापनको जिम्मेवारी पाएपछि कार्यक्रम भव्य बनाउन तयारी थालिएको हो । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडामा पहिलोपटक महासंघको राष्ट्रिय भेला हुन लागेको बताइएको छ ।
साथै, बैठकले सदस्यता नवीकरणको लागि पनि सूचना जारी गर्ने निर्णय गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले साउन २५ गतेसम्म सदस्यता नवीकरण गरिसक्नु पर्ने निर्णय गरेसँगै महासंघ मकवानपुर शाखाले आफ्ना सदस्यहरुलाई एक हजार रुपैयाँ नवीकरण शुल्क तिरेर साउन २० गतेभित्र महासंघको कार्यालयमा नवीकरणको आवेदन बुझाउन सूचना जारी गरेको कोषाध्यक्ष सुदिप शिवाकोटीले बताए ।