हेटौंडाः बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सूर्य नेपाल प्रालिले १ करोड रुपैयाँ सहयोग गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीले सो रकमको चेक हस्तान्तरण गरेका थिए । सहयोग रकमको चेक हस्तान्तरणपछि मुख्यमन्त्री पौडेलले कोषमा रकम प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै सबैको सहयोगमा कोरोना बिरुद्धको अभियान सफल हुने बताए । सरकारको अभियानमा सूर्य नेपालको हातेमालोको उनले प्रशंसा गरे ।

सूर्य नेपाल प्रालिका उपाध्यक्ष केसीले कोरोना बिरुद्धको अभियानमा प्रदेश सरकारले देखाएको सक्रियतालाई साथ दिन सहयोग गरेको बताए । कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, प्रमुख सचिव तोयम राय, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया सहभागी थिए ।