सांकेतिक तस्वीर

आज साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व लुतो फालेर मनाइँदै छ । असार महिनाभर धान रोपाइँ लगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गरिन्छ ।

हिलो माटोमा काम गर्नुपर्ने भएकाले छाला सम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने प्रचलन छ । परम्परा अनुसार भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा पनि प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आफ्नो कुल परम्परा अनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्टी बजाउने, ढोका बन्द गर्ने चलन छ । यसो गर्दा छाला सम्बन्धी कुनै पनि रोग नलाग्ने विश्वास गरिएको छ ।

साउन महिना भगवान् शिवको पूजा गरेर पनि मनाइन्छ । महिलाहरुले हरियो चुरा, रातो, पहेँलो वस्त्र, मेहन्दी लगाउँछन् । केहीले साउनको प्रत्येक सोमबार व्रत बसेर शिवको पूजा गर्ने गर्दछन् । साउन महिनाभर देशभरका शिवालय तथा विशेष गरी काठमाडौंको पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । तर, यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण भीडभाड गर्न नपाइने भएकाले घरमै बसेर पर्व मनाउँदैछन् ।