हेटौंडा: मकवानपुरको थाहा नगरपालिका आर्थिक अनुशासनमा देशकै उत्कृष्ट स्थानीय तह हुन सफल भएको छ । आर्थिक वर्ष २०७४/०७५ सम्मको बेरुजु अंकको ९६ दशमलव ०६ प्रतिशत फछ्र्यौट गरेको भन्दै थाहा नगरपालिलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशकै उत्कृष्ट नगरपालिकाको रुपमा पुरस्कृत गरेको हो ।

नगरपालिकाको तर्फबाट उल्लेख्य कार्य गरेकोमा प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी र लेखा अधिकृत विष्णु भुषाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनही ५ हजार रुपैयाँ पुरस्कार र सम्मानपत्र प्रदान गरेको छ । महालेखा परीक्षकको कार्यालयको अन्तिम लेखापरीक्षणमा ४ प्रतिशतभन्दा कम बेरुजु हुने कार्यालयलाई आर्थिक अनुशासन राम्रो भएको मानिन्छ । अघिल्लो आर्थिक वर्षमा देशभरका स्थानीय तहहरु मध्ये उत्कृष्ट ४ मा पर्न सफल थाहा नगरपालिका यस वर्ष भने मुलुकभरका ७ सय ५२ स्थानीय तहलाई पछि पार्दै बेरुजु फछ्र्योटमा सर्वोत्कृष्ट घोषित भएको हो ।

आर्थिक अनुशासनमा देशमै सर्वोत्कृष्ट घोषित भएकोमा नगरप्रमुख लवशेर बिष्टले आभार व्यक्त गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षणमा बेरुजु फछ्र्यौटमा सर्वोत्कृष्ट कार्य गरेको ठहर गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थाहा नगरपालिकालाई देशकै सर्वोत्कृष्ट घोषणा गरेको नगरप्रमुख बिष्टले जानकारी दिए ।

बेरुजु फछ्र्यौट कार्ययोजना र मार्गदर्शन अनुसार कर्मचारीलाई प्रशंसा पत्रसहित पुरस्कृत गर्ने मन्त्रालयको निर्णय छ । थाहा नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा बेरुजु २ दशमलव ५४ प्रतिशतमात्र कायम गरेको छ । थाहा नगरको आर्थिक वर्ष २०७४/०७५ सम्मको १ करोड ४९ लाख ५२ हजार रुपैयाँ बेरुजु फछ्र्यौट भएको प्रमुख प्रशासकीय अधिकृत पुरीले जानकारी दिए ।