हत्यामा संलग्नहरु सार्वजनिक गर्दै मकवानपुर प्रहरी ।

हेटौंडा: हेटौंडा उपमहानगरपालिका–४ कर्रास्थित सूर्यचोककी २६ वर्षीया सुस्मिता थापा केसीको हत्या अभियोगमा संलग्न चारै जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मकवानपुरले आदेश दिएको छ ।

बुधबार जिल्ला अदालत मकवानपुरका न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले सुस्मिताको हत्यामा संलग्न ४ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । हत्या अभियोगमा पक्राउ परेका सुस्मिताका ससुरा ५८ वर्षीय प्रकाश थापा, नन्द २३ वर्षीया सीता थापा, सासु ५० वर्षीया तुलसा कुमारी थापा र अर्की नन्द २७ वर्षीया दुर्गा थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तिर्थराज भट्टराईले जानकारी दिए । मंगलबार थुनछेक बहस सकिएपनि समय अभावका कारण आदेश भने बुधबारका लागि सारिएको थियो ।

हत्यामा संलग्न प्रकाश थापा र सीता थापालाई आजीवन कैद सजायको माग दाबी गर्दै सरकारी वकिल कार्यालय मकवानपुरले आईतबार जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो । त्यस्तै घटनाको मतियारको रुपमा तुलसी कुमारी थापालाई १२ वर्ष जेल सजाय माग गर्दै तथा दुर्गा थापा र उनका पति ३४ वर्षीय अरुण कार्कीलाई हत्या गराउने षड्यन्त्र गरेको दाबीसहित २५ वर्ष कैद माग गर्दै सरकारी वकिल कार्यालय मकवानपुरले आइतबार जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले असार १५ गते कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी हत्यामा संलग्न अभियुक्तहरु मृतकका ससुरा प्रकाश थापा, सासु तुलसा कुमारी थापा, नन्दहरु दुर्गा थापा र सीता थापालाई सार्वजजिक गरेको थियो । हत्या गराउने षड्यन्त्र गरेको दाबी गर्दै सरकारी वकिल कार्यालयले २५ वर्ष कैद माग गरेको दुर्गा थापाका श्रीमान् ३४ वर्षीय अरुण कार्की भने अझै फरार छन् । हत्या आरोपित फरार रहेका अरुण कार्कीलाई पक्राउ पुर्जी जारी गरिएको छ । उनी फरार रहेकोले अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले बताए ।