हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरको २५४औं साहित्य शृङ्खला भर्चुअल माध्यमबाट अन्तर प्रदेश कवि गोष्ठीको रुपमा सम्पन्न भएको छ । शनिबार कविहरुले तीन चरणमा रचना बाचन गरेका छन् ।

प्रदेश १ बाट रमेश शुभेच्छु, प्रदेश २ बाट सञ्जय शाह ʽमित्र ’, बागमती प्रदेशबाट रचना मोक्तान ʽयात्री’, गण्डकी प्रदेशबाट मिलन समिर, प्रदेश ५ बाट सरस्वती कुसुम्या तथा सुदुरपश्चिम प्रदेशबाट मिन थापा सहभागी रहेका थिए । कार्यक्रममा थारु, बज्जिका तथा तामाङ भाषाका कविता पनि बाचन गरिएका थिए ।

झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक तथा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिलको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि निमेष निखिलले यस्ता कार्यक्रमले नेपाली साहित्यमा अझै टेवा पुग्ने बताए । उनले समकालीनतामाथिको दृष्टिकोण नै परिवर्तन गर्नु पर्ने बेला भएको धारणा राखे । प्रमुख अतिथि निमेष निखिलले कार्यक्रममा वाचन भएका रचनाको समीक्षा पनि प्रस्तुत गरेका थिए ।

संस्थाका सल्लाहकार रमेशमोहन अधिकारीले यस्तो कार्यक्रम भएकोमा खुसी लागेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम गरिरहन सुझाव दिए । यसैगरी कार्यक्रममा मातृभूमि साहित्य समाजका अध्यक्ष माधब पोखरेल, आचँल कलापुञ्जका कार्यबाहक अध्यक्ष अनिता न्यौपाने, प्रलेस मकवानपुरका अध्यक्ष शान्ति प्रियबन्दना, कवि तथा समाजसेबी अर्पण पराजुलीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बिश्वनाथ सञ्जेल, किशुन दयाल यादब, महेश जिज्ञासु, बिधान स्पर्श, चिरञ्जीवि लामीछाने, सन्तराम राई लगायतको सहभागिता थियो ।