मुख्यमन्त्री डोरमणि पौडेल डा. सन्दूक रुईतसङ्ग आँखा जाँच गराउँदै

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको नियमित स्वास्थ्य जाँच अन्तर्गत आँखा मुटु जाँच गरिएको छ । सोमबार मुख्यमन्त्री पौडेलको मुटु र आँखाको जाँच गरिएकोमा अवस्था सामान्य रहेको पाइएको हो ।

बाँसबारीस्थित गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा मुटु एवम् तिलगंगा आँखा अस्पतालमा आँखाको जाँच गरिएको थियो । मुख्यमन्त्री पौडेलको मुटुको जाँच मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीले गरेका थिए भने आँखाको जाँच डा. सन्दुक रुईतले गरेका थिए । चिकित्सकका अनुसार मुख्यमन्त्री पौडेलको मुटु एवम् आँखाको अवस्था सामान्य छ ।

नियमित स्वास्थ जाँचका लागि मुख्यमन्त्री पौडेल शनिबार काठमाडौं गएका थिए । मुख्यमन्त्री पौडेलको २०७६ साल जेठमा मुटुको एन्जियोप्लास्टी र २०७५ चैतमा देब्रे आँखाको मोतिबिन्दुको शल्यक्रिया गरिएको थियोे । मुटुको अप्रेशन डा. अधिकारीको टोली तथा आँखाको अप्रेशन पनि डा. रुईतको टोलीले गरेको थियो ।