पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने माग राख्दै प्लेकार्डसहित दवावमूलक कार्यक्रममा सहभागी युवा कार्यकर्ता

हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादले उग्र रुप लिएसँगै फरक नेताको गुटका कार्यकर्ताको प्रदर्शनी जारी छ । यसैबीच मंगलबार मकवानपुरस्थित नेकपा कार्यालयमा पार्टी एकताको लागि दवाव अभियान मकवानपुरले दवावमूलक कार्यक्रम गरेका छन् ।

अभियानले र्याली सहित पार्टी कार्यालय पुगेर पार्टी जिल्ला कमिटिमार्फत् पार्टीको केन्द्रीय कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो । पार्टी एकतालाई मजबुत बनाउँदै नेकपालाई थप सशक्त बनाउनुपर्ने मागसहित अभियानले पार्टी कार्यालयमा पुगेर पार्टी सचिव प्रेमबहादुर पुलामी मार्फत केन्द्रीय सदस्य कुमारी मोक्तानलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनत्रपमा पार्टी नेतृत्वमा देखिएको मनमुटावले कार्यकर्तामा निराशा पैदा भएको उल्लेख गरिएको छ ।

पार्टी सिद्धान्त र सस्थागत ढंगबाट चल्नुपर्ने माग राख्दै अभियानले पुलामीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुका केन्द्रीय सदस्य किशोरकुमार टंडनले पार्टीको नेतृत्वमा देखिएको तिक्तताले आम युवा विद्यार्थीमा असर परेको भन्दै पार्टी एकढिक्का भएर जानुपर्ने बताए । नेकपाको नेतृत्वले युवा विद्यार्थीको मनोविज्ञान बुझेर पार्टीलाई एकढिक्का बढाउनुपर्ने उनको भनाई छ ।

ज्ञापनपत्र ग्रहण गरेपछि प्रतिक्रिया दिँदै सचिव पुलामीले युवा विद्यार्थीको माग अनुसार पार्टीलाई थप एकतावद्ध बनाएर लैजानको लागि नेतृत्व गम्भीर बन्नुपर्ने बताए । कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सदस्य कुमारी मोक्तानले युवा विद्यार्थीको मागलाई केन्द्रीय कार्यलयसम्म लैजाने प्रतिबद्धता ब्यक्त गरिन् । ज्ञापनपत्र बुझाउनुअघि र्यालीमा सहभागी कार्यकर्ताहरुले पार्टी कार्यालय परिसरमा प्लेकार्डसहित केहीबेर प्रर्दशन गरेका थिए ।