हेटौंडाः मकवानपुरसहित ४ जिल्ला बागमती प्रदेशभित्र डेंगुको उच्च जोखिममा रहेको पाइएको छ । बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले चितवन, धादिङ र काठमाडौंमा पनि डेंगुको उच्च जोखिम रहेको तथ्यांक सार्वजनिक गरेको हो ।
अघिल्ला दुई आर्थिक वर्षमा क्रमशः ४ सउ ६५ र एकसय ५३ जनामा डेंगु देखिएकोमा गत आर्थिक वर्षमा ११ हजार २ सय १४ जनामा डेंगु फेला परेको थियो । जसमध्ये अधिकांश बिरामी मकवानपुर, चितवन, काठमाडौं र धादिङको रहेका निर्देशनालयले जनाएको छ । सन् २००४ मा नेपाल भित्रिएको डेंगु पछिल्ला वर्षहरुमा चुनौतीको रुपमा देखिएको बताइन्छ ।
हाल कोरोना भाइरसको महामारीसँगै डेंगु संक्रमण पनि बढ्न सक्ने भन्दै बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले आवश्यक तयारी गरेको दाबी गरेको छ । शनिबार बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा हेटौंडामा सञ्चालित सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा प्रस्तुती दिँदै निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक अर्जुनप्रसाद सापकोटाले यस्तो बताएका हुन् । वर्षायाम सुरु भएसँगै डेंगुको संक्रमण पनि बढ्न सक्ने भन्दै उनले निर्देशनालय यसमा संवेदनशील रहेको र नियन्त्रणको तयारी प्रदेशले गरेको जानकारी दिए ।
समयमै संक्रमण नियन्त्रणका लागि निर्देशनालयले परीक्षण किट आवश्यकता अनुसार सबै जिल्लाहरुमा पठाइएको पनि बताए । झुलको प्रयोग, घरका झ्यालमा जाली लगाउने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने, घर वरिपरी सफा राख्ने जस्ता मानवीय व्यवहारका कारण पनि यसबाट बच्न सकिने हुँदा यस्ता कुराहरुमा सचेत हुन निर्देशनालयले सबैमा आग्रह गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रमेशप्रसाद अधिकारीले कोरोना महामारीसँगै डेंगुको पनि संक्रमण देखिन सक्ने भएकोले अस्पतालहरुलाई सोही अनुसार तयारी अवस्थामा राखिएको जानकारी दिए । अहिले मलेरिया र डेंगुको संक्रमण अत्यन्त न्यून देखिएपनि उचित ध्यान नदिएमा यसको संक्रमण बढ्न सक्नेतर्फ निर्देशक अधिकारीले सचेत गराए ।
विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस नियन्त्रणका लागि पनि प्रदेश सरकारले काम गरिरहेको भन्दै निर्देशक अधिकारीले बागमती प्रदेशमा थप एक ल्याब स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दिपक काफ्ले र नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्टले सम्बन्धित विषयमा आफ्नो धारणा राखेका थिए ।