हेटौंडाः जनता समाजवादी पार्टी (जसपा) मकवानपुरले नागरिकता ऐेनको संशोधन प्रस्ताव सच्याउन माग गरेको छ । नागरिकता ऐेनको संशोधन प्रस्ताव सच्याउन माग गर्दै आज मंगलबार उक्त पार्टीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

जसपा मकवानपुरले हालै राज्यव्यवस्था तथा सुशासन समितिले संसदमा पेश गरेको नागरिकता ऐनको संशोधन प्रस्ताव भेदभाव उन्मुलन सम्बन्धी अन्तराष्ट्रिय महासन्धी विरोधी भएको भन्दै उक्त विधेयक सच्याउन मागसहित ४ बुँदे ज्ञापन पत्र बुझाएको जिल्ला नेता राजेन्द्र सिम्खडाले जानकारी दिए ।

उक्त पार्टीले समान व्यवहार गरि राज्यका सबै नागरिकहरुको अभिभावक बन्ने अवसरको सदुपयोग गर्न सरकारलाई आग्रह गरेको छ । यस विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै ज्ञापन पत्र पेश गरिएको जनता समाजवादी पार्टीका केन्द्रीय नेता सोनाम सिं स्याङ्तानले बताए । विभेद, निषेध र वहिष्करण कायमै रहे जनताको आन्दोलित हुने अधिकारलाई कसैले रोक्न नसक्नेमा केन्द्रीय सदस्य स्याङ्तानले जोड दिए ।

ज्ञापन पत्र बुझ्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिपक राज नेपालले प्रधानमन्त्रीको कार्यालयसँग समन्वय गरेर उक्त पत्र छिट्टै पठाइने जानकारी दिए । ज्ञापन पत्र बुझाउने कार्यक्रममा प्रजिअ नेपाल, मकवानपुर प्रहरी प्रमुख शुशिल सिं राठौर, सूचना अधिकारी देवचन्द्र गर्ताैला, जसपाका जिल्ला नेताहरु तुफान बिक्रम क्षेत्री, हरिहर खतिवडा, बिकेन्द्र लामा लगायत सहभागी थिए ।