हेटौंडाः मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बकैया गाउँपालिकाले धान दिवस मनाएको छ । बकैया–३ स्थित खेतमा औपचारिक कार्यक्रमबीच धान रोपेर गाउँपालिकाले १७औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाएको हो ।

दिवसका अवसरमा गाउँपालिकाको आर्थिक विकास शाखाले कार्यक्रमको आयोजना गरेको थियो । बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनी, आर्थिक विकास शाखा प्रमुख शिवराज पौडेल लगायत गाउँपालिकाका जनप्रतिनिधि तथा यहाँ कार्यरत कर्मचारी सहभागी कार्यक्रममा असारे गीत गाउँदै धान रोपेर दही चिउरा खाने कार्यक्रम गरिएको हो ।

किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यका साथ २०६१ सालदेखि नेपालमा हरेक वर्ष असार १५ गतेलाई धान दिवसका रूपामा मनाउँदै आएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । कृषि क्षेत्रसँग सम्बन्धित संघ, संस्थाले यस दिनलाई विभिन्न कार्यक्रम गरी दिवसका रुपमा मनाउँदछन् ।

मानो रोपेर मुरी फलाउने दिनका रुपमा रुपमा यस दिन अधिकांश स्थानमा रोपाई गरि धान दिवस मनाउने गरिन्छ । कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रुपमा रहेको धानको उत्पादनलाई महत्व दिँदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने गरेको हो ।