सुस्मिता केसी थापा हत्याका अभियुक्तहरु सार्वजनिक गर्दै मकवानपुर प्रहरी ।

हेटौंडा:हेटौंडा उपमहानगरपालिका–४ सूर्य चोककी सुस्मिता क्षेत्री थापाको परिवारकै मिलेमतोमा क्रुरतापुर्वक हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनकै परिवारका सदस्यहरुको मिलेमतोमा सुस्मिताको हत्या भएको विवरण सार्वजनिक गरेको हो ।

प्रहरीले हत्याको अभियोगमा मृतक सुस्मिताका ससुरा प्रकाश थापा, सासु तुलसाकुमारी थापा, नन्दहरु दुर्गा कार्की र सिता थापालाई सार्वजनिक गरेको छ । गत असार १ गते हत्या गरिएकी सुस्मिताको हत्याको अभियोगमा यसअघि प्रहरीले उनीहरुको परिवारको सदस्यलाई पक्राउ गरेको थियो । अभियुक्तलाई सार्वजनिक गर्दै मकवानपुरका प्रहरी प्रमुख शुसिलसिंह राठौरले सुस्मिताको क्रुरतापुर्वक हत्या गरिएको बताए ।
परिवारका सदस्यहरुबाट घटनालाई आत्महत्या जस्तो देखाउन खोजिएपनि हत्याको आशंकामा प्रहरीले यसलाई गम्भीर रुपमा लिई अनुसन्धान थालेको थियो । साथै, सुस्मिताका माइती पक्षले घटना आत्महत्या नभई हत्या हो भन्ने दाबीका साथ हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै आएका थिए ।

हत्याराले नै जुटाए समाजः
सुस्मिताको हत्या गरेका प्रकाश थापा आफैले भोलिपल्ट वरपरका छिमेकी बोलाएका पाइएको छ । राती बुहारीको हत्या गरेर भोलिपल्ट बिहान आफैले ‘मेरो बुहारीले आत्महत्या गरिन्’, भन्दै उनले गाउँलेलाई बोलाएका पाइएको हो ।
प्रहरीले सोमबार सार्वजनिक गरेको हत्याको विवरण अनुसार असार १ गते बेलुकी अन्दाजी ९ः३० बजेको समयमा मृतकको परिवारका सदस्यहरु ससुरा प्रकाश थापा, सासु तुलसाकुमारी थापा बेलुकाको खाना खाई भान्छाकोठा बाट आफ्नो सुत्ने कोठातर्फ गएका थिए । खाना खानुअघि ससुरा प्रकाश थापाले रक्सी खाएका थिए । मृतक सुस्मिता र नन्द सिता भान्छा कोठामा खाना खाईरहेका थिए ।
सुस्मिता महिनावरी भएको कारण भान्छा कोठाको भुईंमा बसेर खाना खाँदै थिईन् । सोही समयमा ससुरा प्रकाशले काठको लौरो लिएर भान्छा कोठामा प्रवेश गरी बुहारी सुस्मिताको टाउकोमा पछाडीबाट प्रहार गर्छन् । त्यसपछि सुस्मिता भुईंमा लड्छिन् र सोही मौकामा नन्द सिताले नजिकै रहेको लोहोरो प्रहार गरी उनलाई थप घाईते बनाउँछिन् ।
सुस्मिताले बचाउ, बचाउ भन्ने स्वर निकालेपछि सासु तुलासा पनि भान्छा कोठामा आउँछिन् । नन्द र ससुरा मिलेर सासुलाई बाहिर पठाउँछन् र पुनः प्रकाश र सिताले घाइते सुस्मितालाई लौरो र लोहोरोले प्रहार गरी हत्या गर्छन् ।
सुस्मिताको मृत्युपछि प्रकाश र सिता मिलेर उक्त कोठमा फुटेका सिसाहरु, बिग्रेका भाँडाकुँडा मिलाउँछन् । भुईंमा लागेको रगत सफा गर्छन् र भित्रबाट चुकुल लगाएर आफुहरु झ्यालबाट निस्केर आत्महत्या जस्तो देखाउने प्रयास गर्छन् । जिउमा लागेको रगत पखाल्दै नुहाएर बाबुछोरी सुत्छन् । भोलिपल्ट आफैले मेरो बुहारीले आत्महत्या गरिन् भन्दै गाउँलेलाई बोलाउँछन् ।

आर्थिक र यौनको लालचमा हत्याः
बिबाह गरेको ६ महिनामै श्रीमान् गुमाएकी सुस्मितालाई रकम र यौनको लालचमा हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत असोज २६ गते ससुरालीबाट फर्कने क्रममा मृतक सुस्मिताका श्रीमान् रुपेन्द्रको मोटरसाईकल दुर्घटनामा मृत्यु भएपछि बुहारीलाई उसकै कारण मृत्यु भएको भन्दै परिवारका सदस्यहरुले आरोप लगाउने गरेका थिए ।
यसै क्रममा ससुरा प्रकाश थापाबाट मृतक सुस्मितालाई बाथरुममा जबर्जस्ती करणीको उद्योग गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मृतकका श्रीमान्को दुर्घटनामा मृत्यु भएपछि पाउने क्षतिपूर्ति वापतको पाँच लाख रकम सुस्मिताले प्राप्त गरेको र घर पक्षले हामीले पाउनुपर्छ भनेर विवाद सृजना गरेको र हकवालाको विवादकै कारण ३८ लाख २८ हजार रकम हालसम्म प्राप्त नगरेको पाइएको छ । श्रीमान्को मृत्युपछि सामाजिक सुरक्षा कोषबाट सुस्मिताले पाएको केही पैसामा परिवारको दाबी रहँदै आएको थियो ।

कानुनी प्रावधान
उनीहरुलाई मुलकको फौजदारी अपराध संहिता २०७४ को दफा ४१ (क) बमोजिम क्रुर याताना दिई ज्यान मारेको आरोपमा कसुर जिवित रहेसम्म कैद अर्थात् जन्मकैद हुने व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशिलसिंह राठौरले बताए ।