हेटौंडाः मकवानपुरका १० स्थानीय तहहरु मध्ये ९ वटा स्थानीय तहहरुले आउँदो आर्थिक वर्ष २०७७/७८ को लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । बागमती गाउँपालिका बाहेक बुधबार जिल्लाको सबै स्थानीय तहहरुले आर्थिक वर्ष २०७७/७८ को लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । बागमतीमा भने नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले सहभागिता नजनाउने भएपछि गाउँपालिकाले गाउँसभा राख्न नसकेको हो ।

मकवानपुरका स्थानीय तहहरुको आउँदो आर्थिक वर्ष २०७७/७८ को बजेट यस्तो छः

हेटौंडा उपमहानगरपालिकाः

बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकाले बुधबार आगामी वर्षका लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले आउँदो आर्थिक वर्षको लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी हुन् । सातौं नगरसभामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै उपमेयर लामाले बजेटमा आन्तरिक श्रोतबाट २० करोड १४ लाख ७९ हजार रुपैयाँ, राजश्व बाँडफाँडबाट ५५ करोड ३ लाख ४४ हजार, प्रदेश सरकारको विभिन्न अनुदानबाट ८ करोड ३५ लाख ९८ हजार तथा संघीय सरकारको अनुदान ९८ करोड ९९ लाख तथा असार मसान्तसम्म खर्च नभइ बचत भएको २६ करोड १३ लाख ११ हजार रुपैयाँ प्राप्त हुने जानकारी दिइन् ।

थाहा नगरपालिकाः

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाले आउँदो आर्थिक वर्षको लागि ८० करोड ५६ लाख ३३ हजारको बजेट सार्वजनिक गरेको छ । बुधबार सम्पन्न सातौं नगरसभामा उक्त बजेट नगर उपप्रमुख खड्ग गोपालीले पेश गरे । बजेट सभामा अन्तरिक स्रोत ५ करोड १५ लाख ६० हजार, राजश्व बाँडफाँड १४ करोड ३७ लाख २० हजार, संघीय सरकारबाट अनुदान ५३ करोड २१ लाख, प्रदेश सरकारबाट अनुदान ७ करोड ८२ लाख ४३ हजारको पेश भएको हो ।

बकैया गाउँपालिकाः

मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिकाले आउँदो आर्थिक वर्षको लागि ६५ करोड १९ लाख ६९ हजार २३० रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै बजेटमा नेपाल सरकारबाट ५० करोड १० लाख २२ हजार २३० रुपैयाँ र बागमती प्रदेश सरकारबाट ८ करोड २६ लाख ८७ हजार रुपैयाँ प्राप्त भएको जानकारी दिईन् । त्यस्तै, आन्तरिक आयस्रोत ६ करोड ८२ लाख ६० हजार हुने अनुमानसहित कूल ६५ करोड १९ लाख ६९ हजार २३० रुपैयाँको बजेट पेश गरिएको उपाध्यक्ष बोलखेले जानकारी दिईन् ।

ईन्द्रसरोबर गाउँपालिकाः

मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकाले आउँदो आर्थिक वर्षको लागि करिब ५० करोडको बजेट निर्माण गर्ने तयारी गरेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष जीवन लामाद्वारा प्रस्तुत गरिएकोे नीति तथा कार्यक्रममा आगामी वर्षका लागि कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दिइएको उल्लेख छ ।

कृषिमा आधुनिकीकरण र व्यवसायीकरण तथा लघु, घरेलु, साना, मझौला उद्यम, स्थानीयस्तरमा उत्पादन हुने फलफूलको व्यवसायिक खेती प्रबद्र्धन, कृषकहरुलाई कृषि र पशुपालनका क्षेत्रमा व्यवसायिक बन्न प्रोत्साहन, खोर तथा गोठ सुधार कार्यलाई प्राथमिकता दिई जैविक विषादीलाई प्रवर्द्धन गर्ने, गाउँपालिका भित्र कम्तिमा एक घर पाँच फलफूल विरुवा अनिवार्य रोप्ने नीतिलाई अवलम्बन गरिने जनाएको छ ।

नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा उपाध्यक्ष उमा कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी, ५ वटै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु लगायत कर्मचारीहरुको सहभागी थिए ।

राक्सिराङ गाउँपालिकाः

जिल्लाको राक्सिराङ गाउँपालिकाले आउँदो आर्थिक वर्षको लागि ५१ करोड ३० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार बसेको गाउँसभाको सातौं अधिवेशनको पहिलो बैठकमा उपाध्यक्ष निर्मला हिमडुङले चालु आब २०७६÷७७ को तुलनामा करिब ६ करोड बढीको आयव्ययको अनुमानित विवरण पेश गरेकी हुन् ।

राक्सिराङको आगामी वर्षको बजेटमा भौतिक पूर्वाधारको निर्माण तथा नागरिकको क्षमता अभिवृद्धिमार्फत रोजगारीका अवसरहरु वृद्धि गर्दै आर्थिक समता कायम गर्ने उद्देश्य राखिएको छ । गाउँ कार्यपालिका र वडा कार्यालयहरुबाट प्रदान गरिने सेवामा आम नागरिकको सहज पहुँच पु¥याउने पनि उद्देश्य लिइएको छ ।

शिक्षा स्वास्थ्य, खानेपानी तथा सरसफाईमा लगानी वृद्धि गरी सामाजिक क्षेत्रको विकासमार्फत कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्ने प्राथमिकता निर्धारण गरिएको छ । साथै भौतिक तथा आर्थिक पूर्वाधार विकास, कृषि क्षेत्रको आधुनिकीकरण, रोजगारमुलक समावेशी आर्थिक विकासलाई पनि बजेटले प्राथमिकताको साथ समेटेको छ ।

कैलाश गाउँपालिकाः
मकवानपुरको कैलाश गाउँपालिकाले आउँदो आर्थिक वर्षको लागि मकवानपुरको कैलाश गाउँपालिकाले ४३ करोडको बजेट ल्याएको छ। गाउँपालिकाले बुधबार बसेको गाउँसभाबाट ४३ करोड ७२ लाख ५९ हजार ७ सय ४० रुपैयाँ बजेट ल्याएको गाउँपालिका अध्यक्ष टंक मोक्तानले जानकारी दिए।

मनहरी गाउँपालिकाः

मकवानपुरको मनहरी गाउँपालिकाले आउँदो आर्थिक वर्षको लागि ७६ करोड १६ लाख ३५ हजार ४ सय २० रुपँया को बजेट सार्वजनिक गरेको छ । बुधबार गाउँपालिकाको सातौं गाउँसभामा अनुमानित बजेट पेश गर्दै गाउपालिकाकी उपाध्यक्ष मनिला बिष्टले नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै विनियोजित बजेट खर्च गर्नको लागि संघीय सरकार र बागमती प्रदेश सरकारको वितिय समानिकरण अनुदान तर्फ क्रमश १२ करोड ५५ लाख र १ करोड ३ लाख ८४ हजार प्राप्त हुने बताईन् । यसैगरि संघीय र प्रदेश सरकार शर्सत अनुदान तर्फ क्रमश १८ करोड ४४ लाख र २ करोड ५४ लाख ५५ हजार हुने अनुमान, राजस्व स्रोत बाँडफाँड तर्फ १५ करोड ६३ लाख ९६ हजार ४ सय २० प्राप्त हुने अनुमान, बन रोयल्टीबाट ५० लाख र अन्य सशर्त अनुदान, सामाजिक सुरक्षा रकम तथा आन्तरिक राजस्व परिचालनबाट २५ करोड ४५ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै, चालु खर्चतर्फ ३१ करोड ५५ लाख ५५ हजार ४ सय २० रुपैया कुल विनियोजित रकमको ४१.४३ प्रतिशत, पुँजीगत कार्यक्रम तर्फ ४४ करोड ६० लाख ८० हजार रुपैया कुल बिनियोजन रकमको ५८.५७ प्रतिशत बिनियोजन गरिएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा विशेषगरी कृषि, पर्यटन, पूर्वाधार विकास, खानेपानी, सडक सुधार तथा कालोपत्रे, ग्रामिण विद्युतीकरण, शिक्षा स्वास्थ्य रोजगार जस्ता क्षेत्रमा प्रभावकारी ढंगले काम गर्ने लक्ष्य लिएको छ ।

मकवानपुगढी गाउँपालिकाः
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आउँदो आर्थिक वर्षको लागि ५९ करोड ७५ लाख ७ हजारको बजेट ल्याएको छ । बुधबार पाँचौ गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाले तयार पारेको नीति, कार्यक्रम तथा बजेट ३ नम्बर वडाअध्यक्ष भागवत घिमिरेल प्रस्तुत गर्दैे आउँदो आर्थिक वर्षको लागि ५९ करोड ७५ लाख ७ हजारको बजेट ल्याईएको जानकारी दिए ।

प्रस्तुत गरिएको बजेटमा संघीय सरकार र प्रदेश सरकार वितिय समानिकरण अनुदान १० करोड ९० लाख ५८ हजार प्राप्त भएको, राजस्व बाँडफाँड तर्फ १६ करोड ११ लाख ५९ हजार प्राप्त हुने अनुमान, अर्कोतर्फ आन्तरिक आयतर्फ २ करोड ९१ लख ३० हजार प्राप्त हुने अनुमान, त्यसैगरि संघीय र प्रदेश सरकार शर्सत अनुदान २२ करोड ५ लाख ६० हजार हुने अनुमान, समपुरक अनुदान ५ करोड, विषेश अनुदान रकम २ करोड ७६ लाख प्राप्त हुने बताईएको छ ।

भीमफेदी गाउँपालिकाः
मकवानपुरको भीमफेदी गाउँपालिकाले आउँदो आर्थिक वर्षको लागि ५६ करोड ८७ लाखको अनुमानित बजेट सार्वजनिक गरेको छ। बुधबार बसेको छैठौं गाउँसभा बैठकमा आगामी आवको अनुमानित बजेट र वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो। गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले प्रस्तुत गरेका उक्त बजेटमा “महामारीले सबै युवा गाउँघर, बाँझो जमिन बनाऔँ उर्वर” भन्ने मूल नाराका साथ आगामी आवको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ।

गाउँपालिकाले आगामी आवमा रोजगारी सिर्जना, कृषि, पशुपालन, स्वास्थ्य र भौतिक पूर्वाधारलाई विशेष प्राथमिकता दिएको छ। आगामी बजेटमा पूर्वाधार विकासको लागि १६ करोड, सुशासनतर्फ ६७ करोड, आर्थिक विकासतर्फ ४ करोड ६६ लाख, सामाजिक विकासमा ५ करोड, बन तथा वातावरणमा १ करोड ६४ लाख रुपैयाँ विनियोजन गरेर बजेट सार्वजनिक गरेको अध्यक्ष हिदम लामाले बताए ।