गोपाल ढकाल/ अक्सर हाम्रो हात कस्तो अवस्थामा अनुहारमा पुग्छ ? ख्याल गर्ने हो भने सजिलैसँग थाहा पाउन सकिन्छ । हामीहरू प्रायः चिन्तित वा निराश भएको बेला अनुहारमा हात राखेर झोक्राइरहेका हुन्छौँ । डराएका बेला हत्तनपत्त हातले अनुहार छोप्छौँ । रोएका बेला हात अनुहारमा नै पुगेको हुन्छ । रुँदा कि त अनुहार छोपिरहेका हुन्छौँ कि आँखा मिचिरहेका हुन्छौँ । लजाएको समयमा पनि अनायासै हाम्रो हात अनुहारमा पुगिसकेको हुन्छ। खुसी भएको बेला वा दुखद् समाचार सुन्दा हाम्रो हात मुख छोप्न पुगिसकेको हुन्छ ।

समस्याको समधान नभेटेर सोचिरहेको बेला हामी या त नाक कोट्याइरहेका हुन्छौँ। या त कान वा कपाल तानिरहेका हुन्छौँ वा हाम्रो हातका औँलाहरू ओठमा पुगिसकेका हुन्छन् । कसैको पीडामा सहानुभूति देखाउँदा वा अरुको खुसीमा सामेल हुँदा पनि हाम्रो हात उसको गाला वा अनुहारमै पुग्ने गर्छ ।

अनुहार मनको ऐना हो । मनका भावहरू जस्तो पिर, व्यथा, वेदना, खुसी, उमंग अर्थात् संवेगको अभिव्यक्ति हाम्रो अनुहारबाट नै भइरहेको हुन्छ । खुसी वा दुःखी हुँदा दुवै अवस्थामा तनाव बढ्छ ।

हात नचलाई हामी बस्नै सक्दैनौँ । सामान्यतया कम्तीमा पनि एक घण्टामा २÷४ पटक अनुहारमा हात पुग्नुलाई आधारभूत मानवीय स्वभाव नै मानिन्छ । तर, तनावमा भएको बेला भने अरु सामान्य अवस्थामा भन्दा धेरै पटक हाम्रो हात अनुहारमा पुग्ने गर्छ।

विश्वभरि नै अहिले कोरोनाको संकट छ । यो अवस्थामा हामी सबैमा अलिअलि भए पनि डर चिन्ता र तनाव पक्कै बढेको हुनुपर्छ। यसलाई सामान्य र स्वभाविक नै मानिन्छ। कतिपयमा भने यो समस्या अलिक बढी नै पनि हुन सक्छ। यस्तो विषम परिस्थितिमा डर, चिन्ता र तनावको कारण शरीर र मन दुवै अशान्त हुने, छट्पटी बढ्ने, अस्थिर हुने, उकुसमुकुस हुने हुन्छ ।

कोरोनाको प्रकोप बढेसँगै मनोसामाजिक एवं मानसिक स्वास्थ्य समस्याहरू पनि बढेर गएका छन्। चिन्ता तथा चिन्ताजन्य मानसिक समस्या जस्तो अब्सेन्सिभ कम्पल्सिभ डिसअडर्स, प्यानिक अट्याक, मानसिक आघात, डिप्रेसन, एक्युटस्टेस डिसअडर्स, तनाव तथा तनावजन्य मनोवैज्ञानिक समस्याहरू यस्तो अवस्थामा अरु बेलाभन्दा धेरै बढ्ने गर्छन् ।

यस्ता मानसिक एवं मनोवैज्ञानिक समस्या देखिँदा शारीरिक लक्षणहरू पनि देखिन्छ । जस्तो टाउको दुख्ने, अनुहार रातो हुने, कान, शरीर तात्ने, पोल्ने, झम्झमाउने, मुख सुक्ने, आँखा पोल्ने, फुर्फुराउने वा धमिलो देख्ने, सास फेर्न गाह्रो हुने शरीरमा वा नाकमा बढी पसिना आउने, नाक सकसकाउने जस्ता लक्षणहरू देखिन्छन् ।

यस्ता लक्षणहरूले गर्दा पनि हामीलाई असहज भइ हाम्रो हात नाक, मुख, आँखामा पुग्छ । हामी अनायासै अनुहार र शरीर सुम्सुम्याउन पुग्छौँ।

अझ कोरोना भाइरसको संक्रमण हुँदा देखिने मुख्य लक्षण ज्वरो आउने हुँदा यसको डरले धेरै सताएमा पटकपटक अनायासै वा जानीजानी पनि निधार छाम्न पुगिन्छ ।

कोरोना भाइरस हातको माध्यमबाट मुख, नाक र आँखा हुँदै शरीर भित्र प्रवेश गर्ने भएकाले हातको सरसफाइलाई विशेष ध्यान दिनुपर्छ। साथै, हातले अनुहारमा छुने कार्य गर्नुहुँदैन।

यस्तो गरे संक्रमणको जोखिम बढ्छ । अहिले कोरोनाको संक्रमण बढ्नुमा मानिसको यस्तो कार्यले प्रभाव पारेको अनुमान गर्न सकिन्छ । तर, तनाव बढेका बेला चाहेर पनि हामी हाम्रो हातलाई कन्ट्रोलमा राख्न सकिरहेका हुँदैनौँ ।

किन यस्तो व्यवहार गर्छौं हामी ?

आफ्नो अनुहार आफैँले सुम्सुम्याउने, नाक कोट्याउने, कान कोट्याउने, आँखा मिच्ने, औँलाले ओठ चलाउने नङ टोक्ने लगायतका कार्यहरू नजानिँदो पाराले हामी गरिरहेका हुन्छौँ।

यसो गर्दा हामीलाई आनन्द महसुस हुने, सन्तुष्टि मिल्ने एवं तनाव कम भएको महसुस हुने गर्छ। हामीले आफैँलाई छोएर शरीर, अनुहार सुम्सुम्याएर आफ्नो संवेग र ध्यानलाई नियन्त्रण गर्न खोजीरहेका हुन्छौँ। यसले संवेगात्मक प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।

तनाव कम गर्न वा तनाव मानवीय स्वभावबारे अनुसन्धान गरेका वैज्ञानिक माइकल हल्स्वर्थले यस तथ्यलाई स्वीकार गर्दै मानिसहरूको यो व्यवहारलाई बदल्न निकै गाह्रो रहेको बताएका छन्। त्यसैले अहिलेको अवस्थामा मानिसलाई अनुहार नछुन आग्रह गर्नुभन्दा पनि हात धोइराख्न आग्रह गर्न सजिलो हुने उनको राय छ ।

कसरी कम गर्न सकिन्छ ?
– तनावको बेला हामीमा अस्थिरता बढ्ने तथा हातहरू पनि अनुहारतिर धेरै जाने हुनाले तनाव व्यवस्थापनमा जोड दिनुपर्छ । तनाव व्यवस्थापनका विभिन्न तरिका र विधिहरु छन् ।

–आफ्नो शारीरिक अवस्थाप्रति सचेत हुनुपर्छ । आफूले के गरिरहेको छु ख्याल गर्नुपर्छ।

–कतिपय अवस्थामा परिवारको सदस्यहरूको पनि सहयोग लिन सकिन्छ । अनायासै यस्तो व्यवहार गरेको देखेमा आफूलाई सूचित गर्न वा सम्झाउन आफन्तलाई भन्न सकिन्छ।

–आवश्यक परेको खण्डमा साइकोथेरापी वा मनोपरामर्श सेवा पनि लिन सकिन्छ।

(लेखक मनोविद् तथा मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन् ।)