सुरक्षित गर्भपतनलाई प्रोत्साहन गर्दै सरकार

अञ्जली थापा/हेटौंडाः अनिच्छाको गर्भ बसेका कारण १७ पटकसम्म गर्भपतन गराइसकेकी हेटौंडा उपमहानगरपालिका—६ कि ४४ वर्षीया कोपिला (नाम परिवर्तन) एक सरकारी कर्मचारीकी श्रीमती हुन् । दुई छोरी र एक छोराकी आमा कोपिलाका श्रीमान् अर्की श्रीमती ल्याएर करिब डेढ बर्षदेखि छुट्टै बसेका छन् ।
“१७ वटा बच्चा फालिसकेँ यही कारणले मलाई रगत बग्ने समस्या छ र अब यही रोगले ज्यान लिन्छ जस्तो छ,” उनले भनिन् । श्रीमानले हेरचाह नगरिदिएका कारण माइती नेपालमा उजुरी गर्न पुगेकी कोपिलाले रुँदै आफ्नो पीडा पोखिन्, “परिवार नियोजनको साधन प्रयोग गरौं न भन्दा पनि नमान्ने, आज मेरो यो अवस्था भयो अनि अर्को ल्याउनुभयो ।”

उपचारको लागि अस्पताल गई औषधी खाईरहे पनि रक्तश्राब रोकिएको छैन । सानै उमेरमा बिबाह गरेकी कोपिलालाई बिबाह भएको २० वर्षपछि श्रीमानले छाडेको बताउँछिन् । उमेर ढल्किँदै गर्दा शरीरमा रोग देखिन थालेपछि उनलाई बाँकी जिवनको बारेमा चिन्ता बढेको छ । हर्मनको गडबडीले शरीरमा देखिएका समस्या समाधान गर्न औषधी खाउन्जेल सन्चो हुने र औषधी खान छोडेपछि बल्झिने गरेको उनको भनाई छ । श्रीमान् सरकारी कर्मचारी हुँदा पनि आफ्नो शारीरिक समस्याका कारण आफुलाई छाडेर अर्की श्रीमती ल्याएको उनको गुनासो छ ।

हाम्रो समाजमा कोपिला जस्ता धेरै महिला छन्, जो गर्भपनतलाई परिवार नियोजनको साधनको रुपमा प्रयोग गरेर समस्यामा परेका छन् । परिवार नियोजनाको साधन प्रयोग नगर्ने तर बच्चा पनि नचाहने दम्पतीले बच्चा फल्नको लागि जथाभाबी औषधी सेवन गर्दा समस्या हुने गरेको विशेषज्ञ चिकित्सकको भनाई छ । नेपाल सरकारले महिलाको स्वास्थ्यमा प्रतिकुल असर नपर्ने गरी परिवार नियोजनको साधन सर्वसाधरणको पँहुचमा पु¥याएको भएपनि प्रयोग नगर्ने र बच्चा बसेपछि औषधी प्रयोग गरेर समस्या भएपछि मात्र अस्पताल आउनाले पनि समस्या भएको हेटौंडा अस्पतालका महिला तथा प्रसुती रोग विशेषज्ञ चिकित्सक राघबेन्द्र ठाकुरले बताए । चिकित्सक ठाकुरका अनुसार गर्भपतन पश्चात अत्यधिक रक्तश्राब भएर आउने बिरामी धेरै हुन्छन् । चिकित्सक ठाकुर भन्छन्, “पाठेघरमा बच्चाको केही टुक्रा बाँकी हुन्छ भने केही टुक्रा झरिसकेको हुन्छ, कसैलाई तत्काल रगत दिएर उपचार गर्छौँ ।” ठाकुरका अनुसार यस्तो अवस्था आउने महिलाले बच्चा फाल्नको लागि जथाभावी औषधी प्रयोग गरेको पाईन्छ । तर महिलाहरु त्यसलाई अस्वीकार गर्छन् । ‘हाम्रो ध्यान बिरामीको जवाफ भन्दा पनि स्वाथ्य अवस्थामा जान्छ”, उनले भने ।

ठाकुरका अनुसार औषधीको प्रयोगले गर्भपतन गराउनु सुरक्षित मानिएपनि १० हप्ता नाघेपछि औषधी प्रयोग गर्नाले जटिलता निम्त्याउँछ । १० हप्ता नाघेको बच्चा औषधिले फाल्न समस्या हुने र केहि टुक्रा गर्भाशयमा नै बस्नाले समस्या आउने चिकित्सक ठाकुर बताँछन् । अस्पतालमा आउने धेरैजसोले परिवार नियोजनको साधन प्रयोग नगरेको पाईएको उनको भनाई छ ।
सरकारले नै सुरक्षित गर्भपतन गराउँदै आएको भएपनि समाजमा हुने मान्यता, चेतनाको कमी र अपराधिक घटनाले महिलालाई असुरक्षित गर्भपतन गराउन बाध्य बनाएको छ । यसको अर्को उदाहरण हेटौंडा अस्पतालमा ६ महिनाको गर्भ फाल्न पुगेकी १७ बर्षीय किशोरी कमला (नाम परिबर्तन) हुन् । उनले आफ्नो पेटमा बच्चा रहेको भर्खर थाहा पाएको बताउँदै उनले भनिन्, “साथीलाई घर पु¥याएर फर्कंदा बाटोमा देखेर घर नजिकैको दाईले आफ्नो घर बोलाउनुभयो र मैले नाई नाई भन्दापनि…………(रुँदै)” उनले थपिन्, “महिनावारी रोकिएको धेरै भएकोले ममी हस्पिटल आउँदा सँगै ल्याउनुभयो । जचाउँदा त बच्चा पो छ भन्नुभयो ।” उनी अहिले हेटौंडा अस्पतालले संचालन गरेको एकद्वार संकट व्यवस्थापन केन्द्रको निगरानीमा छिन् । उनी नाबालिका रहेको र जबरजस्ती करणीबाट गर्भ रहेकोले गर्भपतन गराउन लागेको एकद्वार संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

यस्तै गरिबीको कारणले हेटौंडा—८ की अर्की १४ बर्षीया किशोरी फुलमाया (नाम परिवर्तन)ले पनि माईती नेपाल हेटौंडा कार्यालयको सहयोगमा आफ्नो गर्भपतन गराएकी छन् । १४ बर्ष नपुग्दै १९ बर्षीय गाडीको सह—चालकसँग भागी बिबाह गरेकी उनको पेटमा गर्भ रहेपछि श्रीमान्ले छाडेको फूलमायाको भनाई छ । ती सह—चालकले पुनः अर्को १७ बर्षीय किशारीसँग बिबाह गरेपछि न्याय खोज्दै माईती नेपालको सम्पर्कमा आएकी उनले बल्ल आफ्नो बालबिबाह भएको थाहा पाइन् । अनि गर्भपतन गराइन् । घरमा आर्थिक अभावले पढाई छाडेर भागेको उनको भनाई छ ।

मकवानपुरको सेवाप्रदायक संस्था सुनौलो भविष्यकी गर्भपतन सम्बन्धी परामर्शदाता कल्पना शर्माले भनिन्, “आफुलाई शंका लागेर मेडिकलबाट औषधी खान्छन्, मेडिकलले पिसाब जाँच गर्छ पोजेटिभ देखेपछि औषधी दिन्छ तर कति समयको हो भन्ने जानकारी नै राख्दैन ।” सरकारले औषधीमार्फत १० हप्तासम्मको गर्भपतन सुरक्षित भएको बताएपनि १५ हप्ता नाघिसकेको गर्भवतीले औषधी पसलबाट जथाभावी औषधी सेवन गर्नाले चुनौति थपिएको शर्माको भनाई छ ।
माथि उल्लेखित प्रतिनिधिमुलक घटना मात्र हुन् । बागमती प्रदेशमा वार्षिक १८ हजारभन्दा बढी महिलाले गर्भपतन गराउने गरेका छन् । जसमध्ये ८ प्रतिशतको त मृत्यू नै हुने गरेको तथ्यांक छ । गर्भपतन गराउने महिलामध्ये ५८ प्रतिशतले असुरक्षित गर्भपतन गर्ने गरेको तथ्यांकले देखाउँछ । सुरक्षित गर्भपतनबारे प्रचारप्रसारको अभावका कारण यो चुनौती अझै जटिल देखिएको छ । मकवानपुरमा अघिल्लो वर्ष ८ सय ८९ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । यस बर्षमात्र २ हजार ३ सय २६ जनाले गर्भपतन गरिसकेका छन् ।

महिलालाई प्रजनन् स्वास्थ्यको अधिकार छ । सुरक्षित गर्भपतन सेवा पनि सरकारले प्रदान गर्दै आएको छ । सरकारले नीजि स्वास्थ्य संस्थामा १२ हप्ता र सरकारी अस्पतालमा २८ हप्तासम्मको सुरक्षित गर्भपतन गराउँदै आएको छ । १२ हप्तासम्मको गर्भ स्वच्छाले फाल्न पाउने अधिकार महिलालाई छ । हाडनाताकरणी, जबर्जस्ती करणी, बच्चा बिकलांङ्ग हुनसक्ने अवस्था, बच्चाको कारणले आमाको स्वास्थ्यमा प्रतिकुल असर पर्नसक्ने अवस्थामा हेटौंडा अस्पतालमा २८ हप्तासम्मको गर्भपतन सेवा उपलब्ध छ । यद्यपीे १८ बर्षभन्दा मुनिका किशोरीको हकमा नातेदार लिएर आउनुपर्ने व्यवस्था छ ।
मुलुकी ऐनको ११औं संशोधन गरिएपछि नेपालमा गर्भपतनले कानुनी मान्यता प्राप्त गरेको हो । गर्भपतन सेवालाई सुचारु गर्न २०६० मा सुरक्षित गर्भपतन सेवा प्रक्रिया थालनी भएको थियो । मकवानपुरमा सुचीकृत सरकारी स्वास्थ्य संस्था १५ वटा र सूचीकृत निजी ३ वटा स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा सञ्चालन गरेका छन् ।

२०५९ सालमा नेपाल सरकारले गर्भपतनलाई कानुनी मान्यता प्रदान गरेको थियो । त्यसयता गर्भपतनलाई महिला अधिकारसँग जोडेर वकालत गर्ने गरिए पनि यो महिलाको प्रजनन् समस्याको रुपमा झन् झन् जटिल बन्दै गएको जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी बताउँछिन् । मुलुकी ऐनको ११औँ संशोधनपछि नेपालमा गर्भपतनले कानुनी मान्यता पाएको हो । २०६० चैत्रदेखि प्रसुती गृह थापाथलीबाट नेपालमा सुरक्षित गर्भपतन सेवा सञ्चालन गरिएको थियो । उपप्रमुख पुडासैनीले सुरक्षित गर्भपतनबारे महिला र पुरुषलाई सँगै राखेर अभिमुखीकरण गरिनुपर्ने धारणा राखिन् । सुरक्षित गर्भपतनबारे आम धारणामा परिवर्तन आए मात्र सुरक्षित गर्भपतन सेवा प्राप्त गर्न महिला सहजै स्वास्थ्य संस्था आउने पुडासैनीको तर्क छ । मकवानपुरमा सूचीकृत सरकारी स्वास्थ्य संस्था १५ वटा र सूचीकृत निजी ३ वटा स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा सञ्चालन गरेका छन् ।
सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार गत आर्थिक वर्षमा ७ हजार १ सय ६९ जनाले औजार प्रयोग गरेर गर्भपतन गराएको कार्यालयका तथ्याङ्क अधिकृत ईन्द्रमणी भण्डारीले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा ११ हजार ३ सय ३६ जनाले औषधीको प्रयोगले गर्भपतन गराएका छन् । त्यसैगरी चालु आर्थिक बर्षमा ६ हजार ६ सय ८२ जनाले औषधीको प्रयोग गरेर र ५ हजार ४ सय ५९ जनाले औजारको प्रयोगले गर्भपतन गराएको अधिकृत भण्डारीले जानकारी दिए ।

अधिकृत भण्डारीका अनुसार गत आर्थिक वर्षमा २० बर्ष मुनीका ५ हजार ९ सय ६८ जनाले औषधिको प्रयोग र १ हजार १ सय ५० जनाले औजारको प्रयोगले गर्भपतन गराएका छन् । त्यसैगरी चालु आर्थिक बर्षमा ७ सय १४ जनाले औषधी र ९ सय २२ जनाले औजारबाट गर्भपतन गराएका छन् उक्त सेवाग्राही २० बर्षमुनिको रहेको तथ्याङ्कमा उल्लेख छ । गर्भपतनको लागि आएकालाई सरकारी सेवा केन्द्र्रले परिवार नियोजनको प्रयोगबारे सचेतना गराएर गत आर्थिक बर्ष २ हजार ८ सय ३४ जनाले परिवार नियोजनको साधन प्रयोग गरेको अधिकृत भण्डारीले जानकारी दिए । त्यसैगरी गर्भपतन गराएकामध्ये चालु आर्थिक बर्षमा १ हजार ६ सय ८ जनाले परिवार नियोजनको साधन प्रयोग गरिरहेका छन् । मकवानपुरमा मात्र २ हजार ३ सय २६ जनाले गर्भपतन गराएको तथ्याङ्क छ ।

गर्भपतन परिवार नियोजनको विकल्प होइन तर महिलाले सन्तानको रहर पुगेपछि थप सन्तानबोझ कम गर्नका लागि आफै स्वेच्छाले वा श्रीमानको करमा गर्भपनत गर्ने गरेका छन् । जसको कारण वर्षेनी गर्भपतन गराउनेहरु मध्ये ८ प्रतिशत महिलाको मृत्यु हुने गरेको देखिन्छ । गर्भपतनको जोखिम कम गर्न गर्भपतनको लागि भने जथाभावी रुपमा बेचिने औषधी बन्द गराउने र महिला पुरुष दुबैलाई परिवार नियोजनको साधन सम्बन्धी चेतना अभिबृद्धी गराउन जरुरी रहेको विज्ञको सुझाव छ ।