सुलोचना देवकोटा/स्याङ्जाः के सबै छोरी मजस्तै विवाहपूर्व अज्ञात भविष्यदेखि यसरी नै भयभित हुन्छन् हो ? आजकल हरहमेशा मेरो मनमा पनि तर्क वितर्क चलिरहन्छ । म सम्मानित जीवन चाहन्छु । मेरो जिवनमा विना सङ्केत समुन्द्रमा हुर्किन आएजस्तै सबै कुरा छिटो–छिटो भइरहेका थिए । सबै सपना जस्तो लाग्दै थियो । कतैबाट मेरो विवाहको कुरा आएछ । मलाई भने यो कुराको जानकारी थिएन । ममी र बाबा खुशी हुनुहुन्थ्यो । केटा पनि अमेरिकाको पिआर वाला रे । आखिर कुनचाहीँ आमाबुबालाई खुशी नलाग्ला र आफ्नी छोरीको भाग्य चम्किन लागेको देखेर । सबजना कल्पनाको तलाउमा नुहाउन पुग्नु भएको थियो । आज ममीले मप्रति गरेको व्यवहार नै अलग लाग्दै थियो मलाई । म भने सानैबाट आफ्नै मनभित्रको जङ्गलमा हराउनी मान्छे । केही कुराको वास्ता गर्दैनथेँ । सँधैजस्तो खाना खाएर हामी सबै आआफ्नो कोठातिर लाग्यौं । आज ममी मेरो कोठामा आउनुभएको थियो । थाहा पाएर पनि म थाहा नपाए जसरी अर्कोतर्फ फर्केर सुत्न खोजिरहेकी थिएँ । तर, आफ्नो ममीको अगाडी कहाँ लुकाउन सक्थे र आफूलाई ! ‘छोरी तिमी धेरै भाग्यमानी छौ । मातापिताको छहारीमा बाँच्ने सन्तान वास्तवमा कहिल्यै पनि अभागी हुन सक्दैनन् । हामी छोरीमान्छेको जात अर्काको घर नगई नहुने जात हो । ढिलो होस्, या चाँडो । जानैपर्छ । छोरी मान्छेको भाग्यले ढोका ढकढकाउन एकपटक आउँछ भन्छन् । साँच्चै तिम्रो जीवनमा पनि त्यही पल आएको अनुभुति गर्दै छु’, ममी भन्दै हुनुहुन्थ्यो । ममीको मायामा के नपुगे–नपुगे जस्तै लागिरहेको थियो आज मलाई ।
नारी जोसुकै होस्, पतिलाई खुशी तुल्याउनु उसको प्रथम दायित्व हुन्छ । मैले पनि त त्यही गर्दै आएकी छु । छोरी राम्रो पत्नी हुनलाई कदम–कदममा सम्झौता, आफू हारेर पनि पतिलाई जिताउनुपर्ने त्यति सामथ्र्य राख्न सकिएन भने नारीले घर खान कसरी सक्छे र ? दत्तचित्त भएर बाँकी जीवन उनैको हो भनी दिनरात सेवा समर्पणमा लाग्नुपर्छ । जस्तोसुकै अप्ठयारा दर्दलाई अनुहारसम्म आउन दिनुहुन्न । पत्नीका दुख दर्दहरु पतिको निम्ति झमेलाहरु हुन् । त्यसमा उनीहरु रत्तिभर पनि पर्न चाहँदैनन् । आफ्ना पीरमर्काहरु आफैसङ्ग राख्नु तर पतिका हर अप्ठयाराहरुमा उनले व्यक्त गर्नुपूर्व बुझेर साथ दिनुपर्छ । ममीका कुराले मेरो मनमा हुटहुटी चलेको थियो । हामीलाई अनन्त कालबाट नै यस्तै पाठहरु सिकाउँदै आइएको छ । महाभारतमा माद्रीको कुरा गरौं न पाण्डुजस्तो धुरन्धरको श्रीमती भएर पनि आफ्नो समकालीन जीवनमा उनले सपना बिर्सन बाध्य भएकी थिइन् । माइतीमा हुँदा घोडादौड र राज्यको काममा पोख्त भएपनि पाण्डुसङ्गको विवाह पश्चात् त्यो सब त्यागेर बसेकी थिइन् । जीवन भनेको आफ्नो भाग्यको यात्रा हो भनेर ।
किन हरेक आमाहरु आफ्ना छोरीहरुलाई त्यही मार्गमा हिँडाउन चाहन्छन् ? किन भोगाई चाहन्छन् जुन आफू भोगिरहेका हुन्छन् । किन चाहना गर्दैनन् परिवर्तनको ? के नारी जातिको निम्ति आदेशपालना नै कर्तव्य बन्न आउँछ र ? दुबै जना मौन थियौँ हामी । हाम्रो नजर मनग्य बोलिरहेका थिए । अहिलेको समय भनेको परिवर्नको हो । सत्यलाई उपेक्षा गरेर बाँच्ने समय हो यो । सृष्टिले सन्तान जन्मने क्रममा किन पीडा सहनुपर्ने नियम बसाइन् ? त्यसैले अब हामीले सृष्टिलाई चुनौती दिएर अगाडी बढ्नुपर्छ । हरेक महिनाको चक्रपछि घोप्टो परेर रुनुपर्ने बाध्यतालाई सहज गरेर अगाडी बढ्न सक्नुपर्छ । पतिको आरधना गरेर, पतिको नामले आफ्नो जीवन सजाएर बसेर अब केही हुनेवाला छैन । हामीले आफ्नो पहिचान आफै बनाउनुपर्छ । हामीले त अब शब्दाअर्थमा मात्र हैन व्यवहारिक अर्थमा पतिको अर्धाङ्गिनी अर्थात आधा अङ्ग हुन जरुरी छ । त्यसैले अब हामी छोरीमान्छेलाई विवाह पछाडी पनि त्यो सम्मान घर र पतिबाट होस् भन्ने कामना गर्छु म ।
जबसम्म नारी हृदय बुझ्न नसक्ने पुरुष न्यायको जिम्मेवार व्यक्ति अर्थात् ठेकेदार बनिरहनेछ, तबसम्म समस्त नारी जातीले न्याय प्राप्त गर्न नसक्ने कुरा निश्चित छ । त्यसैले अब जिन्दगीका समस्याबाट टाढा भागेर होइन कि त्यसलाई सदासर्वदा डटेर सामाना गर्नुपर्छ । जसरी श्रीमानलाई रातो टीका लगाउँदा दुबैको भाग्य बराबर होस् भनेर लगाइन्छ नि, हो त्यसरी नै हामी आईमाई भनेर दमन भएर बस्ने दिन गए । हामीले खुलेर सबैको अगाडी बोल्नुपर्छ । म जस्तै अनि मेरी आमाजस्तै कयौं नारीहरु हुनुहुन्छ हाम्रो समाजमा । विवाह हुनुपूर्व मलाई जसरी नै हरेक आमाले आफ्नो छोरीलाई यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भनेर जिन्दगीका पाठहरु पढाउनुहुन्छ । वास्तवमा अहिलेको समयमा नारीको हृदय बुझ्न सक्ने पुरुष जमातको खाँचो छ न कि पिआर वालाहरुको हजुरको छोरीहरुलाई । तबमात्र परिवर्तन सम्भब हुन्छ । त्यसैले हामी शिक्षित भन्दा पनि चेतनशील हुन जरुरी छ ।