हेटौंडा: कोरोना भइरस (कोभिड-१९) संक्रमणको जोखिम कम गर्न सरकारले आह्वान गरेको लकडाउनको प्रतिकूल समयलाई अनुकूलतामा परिणत गर्न विभिन्न साहित्य सर्जकहरू यतिबेला आफ्नो रुचि क्षेत्रमा क्रियाशील छन् । यसै सन्दर्भमा झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष समेत रहेका मकवानपुरे साहित्यकार दिपक गौतम साहित्यिक अभियानमा विगत १ महिनादेखि क्रियाशील छन् ।
नवसर्जकहरूलाई साहित्य लेखन तथा पठन संस्कृतिको विकास गराउने उद्देश्यका साथ ४० भन्दा बढी विद्यालयमा गई साहित्यिक प्रशिक्षण गराउने काममा उनले नेतृत्व गर्दै उनले विगत १ महिना अघिदेखि नि:शुल्क रूपमा “अनलाइन साहित्यिक प्रशिक्षण कार्यक्रम”को अभियानमा चलाएका हुन् । २०७७ जेठ १ गतेदेखि निरन्तर रूपमा शनिबारबाहेक हरेक दिन बेलुका ४.३० देखि ५.५० बजे सम्म (प्रतिदिन ८० मिनेट) साहित्यका क्षेत्रमा लाग्न इच्छुक नवसर्जकहरूका लागि साहित्यका सिर्जना र समालोचना अन्तर्गतका सबै विधामा प्रशिक्षित गराउने उद्देश्यले कार्यक्रम संचालन गरिएको उनले बताए । उक्त कार्यक्रमले गत असार १ गते १ महिना पुरा गरेको छ । यस अवधिमा प्रशिक्षक गौतमले कविता विधाबाट प्रवेश गरी कविताका बद्ध छन्दअन्तर्गतका “लोक, वार्णिक र मात्रिक छन्द” को सैद्धान्तिक एवम् प्रयोगात्मक अभ्यास सम्पन्न गरिसकेको बताएका छन् ।

उनको उक्त एक महिने अवधिको सिकाई उपलब्धि परीक्षण गर्ने उद्देश्यले गत असार १ गते बेलुका ६ बजेदेखि सवा नौ बजेसम्म “छन्द कविता वाचन कार्यक्रम” समेत सम्पन्न भएको छ । नेपाली छन्द कविताको पुनर्जागरण अभियानका नेतृत्वकर्ता व्यक्तित्व एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. देवी नेपाल प्रमुख अतिथिका रूपमा रहेको १ महिने अवधि समीक्षा कार्यक्रममा देशभरबाट करिव ५० जनाले सहभागिता जनाएका थिए । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन अछामकी उपाध्यक्ष गीता ढुङ्गाना, धादिङका सदस्य मणिराम छत्कुली, मकवानपुरे अग्रज साहित्यकार रमेशमोहन अधिकारी, हेटौंडेली कविहरू सुनिल गौतम, डिबी बर्तौला, रामशरण रिजाल, विशाल अधिकारी आशुतोष, हरि पौडेललगायतको आतिथ्यता रहेको थियो ।

प्रशिक्षणमा नियमित रूपमा सहभागी शिक्षकहरू ऋषि काफ्ले, अर्चना दहाल, सिर्जना पुडासैनी, रूबिना शर्मा तथा प्रदेश नम्बर १ देखि सुदूरपश्चिम प्रदेशसम्म र नेपालदेखि जापानसम्मका २२ जना नियमित प्रशिक्षित विद्यार्थीहरू सहभागी भई लोक, वार्णिक र मात्रिक छन्दका उत्कृष्ट कविताहरू वाचन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि डा. देवी नेपालले नयाँ पुस्ताका सुन्दर सिर्जनाहरू सुन्न पाउँदा आफू निकै खुसी भएको र नवसर्जकलाई यसरी सिर्जनात्मक गतिविधिमा संलग्न गराउने अभियानको नेतृत्व गरेकोमा अभियन्ता दीपक गौतमको उच्च प्रशंसा गरेका थिए । साथै उनले प्रत्येक सहभागीले वाचन गरेका कविताको छन्द तथा भावलाई समेटेर सम्बन्धित छन्द तथा लयमा प्रत्युत्तर दिएका थिए । उक्त कार्यलाई कार्यक्रमको सुन्दर पक्षका रूपमा लिइएको थियो ।

कार्यक्रममा सहभागी अतिथि तथा प्रशिक्षार्थीहरूले साहित्यिक प्रशिक्षण अत्यन्त प्रभावकारी एवम् उपलब्धिमूलक बनेको भन्दै अभियन्ता गौतमलाई बधाई दिए। अग्रजहरूको सल्लाह/सुझावका आधारमा आगामी दिनमा समेत निरन्तर रूपमा यस अभियानलाई अघि बढाउने अभियन्ता गौतमले बताए । समय समयमा साहित्यका विभिन्न विधाका अग्रज साहित्यकारहरूलाई समेत कार्यक्रममा आमन्त्रण गर्दै नयाँ पुस्ताको हौसला बढाउन कुनै कसर बाँकी नराख्ने अभियन्ता गौतमको प्रतिवद्धता छ ।