राहुल गुप्ता/वीरगंजः सांसद प्रदीप यादवले संघीय सरकारले वीरगंजस्थित नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय रंगशालाको रुपमा स्तरउन्नती गर्न बजेट माग गरेका छन् । बजेट उपलब्ध गराउन नसके त्यसलाई प्रदेश सरकार मातहत गर्न दिनुपर्ने पनि उनको माग छ ।

बिनियोजन विधेयक २०७७ को सातवटा मन्त्रालयको विभिन्न शिर्षकमा शुक्रबार संसदमा भएको छलफलमा बोल्दै सांसद यादवले नेपालको सबैभन्दा ठुलो दशरथ रंगशाला जस्तै ठुलो रहेको नारायणी रंगशाला कोमामा गईसकेको अवस्थामा पनि यसको स्तरउन्नतीको लागि युवा तथा खेलकुद मन्त्रीले ५० लाख मात्र बजेट दिनुले त्यहाँको एउटा सानो पार्ट पनि बन्न नसक्ने बताउँदै यस रंगशालालाई प्रदेश सरकारको मातहत गर्न दिनुपर्ने माग गरेका हुन् ।

सांसद यादवले भने, ‘पञ्चायत कालको श्री ५ सरकार वा बहुदल आएपछि नेपाल सरकारले नबनाई नारायणी रंगशाला स्थानीयको लेभीबाट बनेको छ, त्यसकारण कि त रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन स्पेशल बजेट छुट्याइयोस्, हैन भने संघबाट हटाएर प्रदेश सरकारको जिम्मा लगाईयोस् । प्रदेश सरकार यसलाई अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन तयार छ ।’
खेलकुद मन्त्रीलाई एनफाले पनि १७ करोड रुपैया दिएको सुन्नमा आएको छ र खेलकुद मन्त्रीले आफ्नो आसेपासे मातहतका पालिकाहरुलाई मात्रै बजेट दिने गरेको सांसद यादवले आरोप लगाए ।