पूजा फुयाल/सोलुखुम्बु: हामी एक अल्प विकसीत राष्ट्रसँगै बेथितीको राज्य संयन्त्रसँगै जुन जोगी आएपनि कानै चिरेको नेत्रृत्व भएका राट्रका नागरिक हौं । हामी हरेक कुराहरूमा अरूको अनुहार हेरेर हात थाप्दै गुहार्दै हिँड्नुपर्ने अवस्था छ । हाम्रो देशको दक्ष जनशक्ती प्रयोग गरेर अन्य राष्ट्रहरूले चमत्कारिक र अनौठा कामहरू गरिसक्दा हामीले विभिन्न आपत विपद् र हर समस्याहरुमा अरूसँग आश्रित हुनुपर्दछ । जस्तै अहिले यस्तो कोरोनाको माहामारीसँग जुध्नको लागि कुनै तयारी देखिँदैन । राज्यस्तरबाट कुनै रिसर्च छैन । सम्भावनाको अध्ययन छैन । जोखिमको मूल्याङ्कन छैन । न्यूनीकरणको प्रयास अनेकौं देखिए र सुनिएपनि उपलब्धीमूलक छैन ।

हर समस्यालाई बाहाना बनाउँदै पैसा कमाउने खेलमा तल्लीन सम्बन्धित निकायका पदीए जिम्मेवारी बोकेका व्यक्तीहरू अब अध्ययन अनुसन्धानमा समय किन खर्च गर्नु ? अरूले बनाएको सामान खरिद गर्दा नै सीधै विना झन्झट कमिसन आउँछ भने । आखिर यो र यस्तै सस्कारले न त पुराना पुस्ताहरू परिवर्तनको जिम्मेवार भए न अब यही तरीकाले नयाँ पुस्ता बन्ने छौँ । आखिर यो सबै कुराको जिम्मा कस्ले लिने ? यति बर्ष जेल खाएँ, यो आन्दोलन गरेँ, हात भाँचियो, खुट्टा भाँचियो भन्ने बाहानामा राज्यलाई लुट्न नेत्रृत्व चयन भएको हैन । देश र जनताको लागि भलो हुने काम सहित परिवर्तनको आशा राखेर नेत्रृत्व चयन भएको हो । आज विश्व जगत आविश्कार र हर कुराको अनुसन्धान, बैज्ञानिक पद्दती अपनाउँदै गर्दा हामी हाम्रा जनशक्ती बाहिर पठाउँदै छौँ ।

आजकै दिनमा पनि बाहिर रहेका दक्ष जनशक्ती नेपाल आउनको लागी सुरक्षित र क्षमता अनुसारको काम, सुविधा दिने हो भने नेपाली तन र मनले नै नेपाल बनाउने छन् । यसको लागी राज्यले किन कहिल्यै सोचेन? जहिले जातीय भेदभाव, भट्राचार, अनियमितता, पदको दुरूपयोग, चोरी, हत्या, बलत्कारका घटनाजस्ता दुखद् खबरहरु सुन्दै दिनहरू बिताउनु पर्दैछ । यही तरिकाले हरेर व्यक्तीको सोचमा के प्रभाव पर्ला? आखिर हामीले कहिलेबाट वैज्ञानिक अनुसन्धानका आधुनिकीकरणका अनि सकरात्मक सोचका कुराहरू सुन्न पाईएला ? जुन कुराले हरेक व्यक्तीमा आत्मबल बढोस् । त्यसैले सम्बन्धित निकाय र मेरा अग्रजहरूलाई मेरो अनुरोध, हामीलाई सकरात्मक सोचको विकास गराईदिनु हो । ताकी हामीले कल्पना गरेको राज्य हामी सबै मिलेर निर्माण गर्ने सकौँ ।

हाम्रो देश परिवर्तनको जिम्मा हर कोही नागरिक र पार्टीहरूलाई बराबर जिम्मेवारी र दायित्व छ । त्यसैले देश बिकासको लागी कुनै पार्टी नभनौँ, कुनै व्यक्ती नभनौँ । पहिला देश बनाउँ, अनि अरू सोचौँला । व्यक्ती व्यक्ती सचेत र परिवर्तन नभएसम्म देश परिवर्तन हुने छैन ।
(लेखक नेपाल बिद्यार्थी संघ सम्बद्ध विद्यार्थी नेतृ हुन् ।)