सांकेतिक तस्वीर

हेटौंडा: हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ घर भएकी ५४ वर्षीय महिलासहित शुक्रबार थप ९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण रहेको पुष्टि भई संक्रमितको संख्या ५१६ पुगेको छ । साथै मकवानपुरमा घर भएर अन्यत्र बस्दै आएका ३ व्यक्तिमा कोरोना भाइरस देखा परेपनि मकवानपुरमा नै रहेका व्यक्तिमा भने हालसम्म संक्रमण देखिएको छैन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो । हेटौंडा उपमहानगरपालिका–३ स्थायी घर भएकी संक्रमित महिला भक्तपुर बस्दै आएको खुलेको छ । तर, लकडाउनको समयमा उनले हेटौंडा ओहोर दोहोर गरेको वा नगरेको भन्नेबारे जानकारी हुन नसकेको र खोजी सुरु गरिएको छ ।

शुक्रबार राती बारा, सप्तरी, भक्तपुर र मकवानपुरका गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।

थप कोरोना संक्रमितहरुमा सप्तरीको बलान-बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका ९ मा ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडा उपमहानगरपालिका ३ मा ५४ वर्षीया महिला छन् ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले आह्वान गरेको लकडाउनको ६०औं दिन शुक्रबारसम्म ५१६ संक्रमितमध्ये ७० जना निको भएर घर फर्किएका छन्, भने ३ जनाको मृत्यु भएको छ ।