सांकेतिक तस्वीर

अनिल पराजुली/कतारः कतारमा आज १४ सय ९१ जना कोरोना भाइरस (कोभिड–१९)का संक्रमित फेला परेपछि संक्रमितको संख्या ३७ हजार नाघेको छ ।

कतारको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २ सय ५५ जनाको जाँच गर्दा १४ सय ९१ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै कतारमा संक्रमितको संख्या ३७ हजार ९७ पुगेको छ ।

कतारमा कोरोना भाइरस संक्रमणका कारण आज ६२ बर्षीय नागरिकको मृत्यु भएको छ । यो सँगै कतारमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण कतारमा संक्रमितको संख्या प्रत्येक दिन थपिँदै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६ हजार ६ सय निको भएर घर फर्किएका छन् । आज मात्रै ९ सय ६६ जना संक्रमित निको भएर फर्केका हुन् । निको हुनेको संख्या आजको सबैभन्दा धेरै रहेको छ ।

३० हजार ४ सय ८१ जना कोरोना संक्रमित बिरामीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार भईरहेको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा अहिले सम्म १ लाख ७० हजार ४ सय ३७ जनाको कोरोना जाँच भएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ ।

कतारमा कोरोना संक्रमित मध्ये १ हजार ५ सय ७८ जनालाई अस्पतालमा राखेर उपचार भईरहेको छ भने पछिल्लो २४ घण्टामा २ सय ७० जना अस्पताल भर्ना भएका छन । त्यस्तै आइसियूमा राखेर १ सय ७२ जनाको उपचार भईरहेको मध्ये पछिल्लो २४ घण्टामा १७ जना थपिएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जानकारी दिएको छ । एक महिना बढी अस्पतालमा उपचार गराएका र कुनै लक्षण नदेखिएका कोरोना पोजेटिभ भएकालाई पनि अस्पतालबाट डिसचार्ज गरिएको छ । उनीहरु अहिले कोठामा आएर बसेका छन् ।

कोरोना संक्रमितको संख्या थपिँदै जाँदा पोजेटिभ देखिएकाहरुलाई समेत अस्पताल लगिएको छैन । उनीहरु कोठामै बस्न बाध्य भएका छन् । संक्रमित
मध्ये धेरैजसो आप्रवासी नागरिकहरु छन् । कतार सरकारले कुन देशका संक्रमित नागरिक कति रहेको छ भन्ने तथ्याङक भने सार्वजनिक गरेको छैन । हाल कतारमा करिव ३ लाख ५१ हजार नेपालीहरु कार्यरत रहेका छन् ।