राहुल गुप्ता/वीरगञ्जः नेपाल सरकारले नीति कार्यक्रम अन्तर्गत अधिकांश योजना संघमुखी ल्याएर संघीयतामाथि प्रहार गरेको सांसद् प्रदीप यादवले आरोप लगाएका छन् ।

सोमबार संसद्मा बोल्दै सांसद् यादवले कृषिको आधुनिकीकरण, व्यवसायीकरण, अस्पताल निर्माण, विदेशबाट फर्किने युवाको रोजगार, तालिम लगायतमा संघीय सरकारको मात्रै कुरा गरिएको र प्रदेशको नामसमेत हटाइएको बताउँदै आपत्ति जनाएका हुन् ।

लकडाउन जारी रहँदा पनि संक्रमितहरुको संख्यामा कमी नआएको पक्षलाई औंल्याउँदै सांसद् यादवले कोरोना संक्रमण रोकथामका लागि सरकारसँग पर्याप्त समयका वावजुद समयमा कदम नउठाउँदा समस्या भएको र संक्रमण तीब्र गतिमा फैलिरहेको आरोप लगाए । कोरोना महामारीसँग लड्न नेपालको तयारी र पूर्वाधार बारे प्रश्न गर्दै सांसद् यादवले भने, ‘संक्रमितहरु बढिरहँदा हाम्रो देशमा स्वास्थ्य पूर्वाधारको अवस्था कस्तो छ?, कोरोना उपचारको लागि अहिलेको तोकिएको अस्पतालको पूर्वाधार कस्तो छ?, निजी अस्पतालहरु सरकारको कुरा टेरिरहेको छ कि छैन, बिरामीको उपचारको लागि स्वास्थ्य सामग्री उपचार कक्ष, भेन्टिलेटर, अक्सिजनको व्यावस्था कस्तो छ? र चिकित्सकको लागि जनशक्ति तयारी अवस्था कस्तो छ? यी प्रश्नहरुको जवाफ हामो भविष्यसँग जोडिएको हुनाले यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण हुन जरुरी रहेको छ ।’

उनले स्वास्थ्य मन्त्रालयका अनुसार देशभर अस्पतालको बेड २७ हजार, आइसियुको बेड १ हजार ५ सय ९५ र भेन्डिलेटर ८ सय ४० वटा रहेको तर यी मध्ये एक तिहाई मात्र कोरोना भाइरसको लागि उपलब्ध रहेको बताए ।

आइसियु सुविधा अस्पताल १९४ वटा छन्, कोभिन क्लिनिक १११ र तिनका आइसोलेसन बेड ३ हजार रहेको बताउँदै सांसद् यादवले कोरोना संक्रमितको संख्या मधेसमा बढिरहेको छ तर स्वास्थ्य पूर्वाधार भने काठमाडौंमा केन्द्रित रहेकोप्रति आपत्ति जनाए ।

‘वीरगञ्जमा कोरोना उपचारको लागि तोकिएको नारायाणी अस्पतालमा ८० बेडभन्दा बढि कोरोना संक्रमित भइसकेको अवस्थामा त्यसबाहेकका कोरोना संक्रमितलाई सिद्धार्थ स्कुलमा राखिएको छ तर यो बेला निजी अस्पतालले कोरोना संक्रमित राख्न आफ्नो अस्पताल दिइरहेका छैनन्’, उनले भने ।

उपप्रधान तथा रक्षामन्त्रीले समेत हिजो एउटा निजी अस्पतालका संचालकलाई फोन गरेर कोरोनाको लागि अस्पताल दिन भन्दा अस्पताल संचालकले कुरा नटेरी अस्पताल दिन तयार नहुनु भनेको सरकार निरिह भईसकेको र निजी अस्पतालका संचालक शक्तिशाली भएको भन्दै सांसद यादवले आक्रोश पोखे ।

‘के कोरोना संक्रमितलाई विद्यालयमा राखेर उपचार गर्न सकिन्छ सरकार ? सरकारको योजना के छ ?’ यस्ता प्रश्न गर्दै सांसद यादवले यसैमा सरकार फेल भएको आलोचना गरे । देशका निजी अस्पताललाई राष्ट्रियकरण गरेर देशका जनतालाई बचाउँन जरुरी रहेको उनको भनाई छ । दिनप्रतिदिन कोरोना संक्रमित बढिरहेकोले निजी अस्पताललाई राष्ट्रियकरण गरेर मात्रै यो महामारीलाई नियन्त्रण गर्न सकिने सांसद् यादवले बताए ।