हेटौंडाः कोरोना भाइरस (कोभिड-१९)संक्रमणको जोखिम उच्च रहेको अवस्थामा सुरक्षित भएर सूचना सम्प्रेषणको लागि मकवानपुरमा खटिएका पत्रकारहरुलाई सर्जिकल मास्क र स्यानिटाईजर वितरण गरिएको छ ।

बागमती प्रदेशका प्रदेश सभा सदस्य एवम् नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामी (छिन्तु)ले पत्रकारका लागि ५ सय थान सर्जिकल मास्क उपलब्ध गराएका हुन् । यस्तै, हेटौंडाका युवा व्यवसायी योग्यराज सापकोटाले पत्रकारका लागि स्यानिटाइजर सहयोग गरेका हुन् ।

सांसद पुलामी र व्यवसायी सापकोटाले प्रेस संगठन मकवानपुरलाई हस्तान्तरण गरेको स्वास्थ्य सामग्री संगठनले जिल्लामा क्रियाशील पत्रकारहरुलाई वितरण गरेको हो । प्रेस संगठन मकवानपुरले प्राप्त सामग्रीसहित प्रेस ज्याकेट पत्रकारहरुलाई वितरण गरेको जनाएको छ ।