हेटौंडाः अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौँडाले मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड-१९)को रोकथाम तथा नियन्त्रणमा सहयोग गर्ने उद्देश्यले उक्त स्वास्थ्य सामग्री स्थानीय तहलाई हस्तान्तरण गरिएको हो ।

आफ्नो कार्यक्षेत्र रहेका दुई स्थानीय तहहरुमा इन्सेकले विहिबार स्वास्थ्य सामग्रीहरु थर्मल गन, पञ्जा, सेनिटाइजर, सर्जिकल मास्क सहयोग गरेको हो । हेटौँडा उपमाहानगरपालिका उपप्रमुख मिनाकुमारी लामालाई इन्सेक प्रदेश संयोजक कृष्ण गौतमले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । इन्सेकले हेटौंडा उपमहानगरपालिकालाई तीन ओटा थर्मल गन, २ सय जोर पञ्जा, २ सय जोर सर्जिकल मास्क र दुई लिटर स्यानिटाइजर सहयोग गरिएको प्रदेश संयोजक गौतमले बताए ।
हेटौंडा उपमहानगरपालिकामा विगत एक वर्षदेखि इन्सेकको इएलपी परियोजना अन्तर्गत शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार सुनिश्चितताको लागि उक्त परियोजना सञ्चालित छ । परियोजना अन्तर्गत गठित नगरस्तरीय मानव अधिकार समूह र मनहरी गाउँपालिका स्तरीय मानव अधिकार समूहले आ–आफ्नो स्थानीय तहहरुमा आधारभूत स्वास्थ्य सेवा प्रदानको लागि केही स्वास्थ्य सामग्री आवश्यक भएकोले इन्सेकसँग माग गरेपछि नगरपालिकाको समन्वयमा सेवा प्रदायक निकायसम्म पुग्ने गरी सामग्री सहयोग गरिएको बागमती प्रदेश कार्यालयले जनाएको छ ।

कार्यक्रममा उपमहानगरपालिका स्वास्थ्य शाखा अधिकृत सुपेन्द्र कार्की, जिन्सि शाखा प्रमुख विनोद सुबेदी, इन्सेक बागमती प्रदेश कार्यक्रम संयोजक गणेश भण्डारी, हेटौँडा उपमहानगरपालिका स्तरीय मानव अधिकार समूहको संयोजक चन्द्रवति पनेरू, उपसंयोजक किरण लामिछाने लगायतको उपस्थिती रहेको थियो ।
यसैबीच जिल्लाको मनहरी गाउँपालिकालाई पनि इन्सेकले दुई थान थर्मल गन, २ सय जोर पञ्जा, २ सय जोर सर्जिकल मास्क र दुई लिटर स्यानिटाइजर सहयोग गरिएको इन्सेक बागमति प्रदेश कार्यक्रम संयोजक गणेश भण्डारीले बताए । गाउँपालिका उपाध्यक्ष मनिला विष्टलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

यसैगरी चितवनको खैरहनी र राप्ती नगरपालिकालाई पनि इन्सेकले स्वास्थ्य सामग्री सहयोग गरेको छ । इन्सेक प्रदेश संयोजक कृष्ण गौतम र प्रदेश कार्यक्रम संयोजक गणेश भण्डारीले चितवनको खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणी चौधरीलाई सहयोग हस्तान्तरण गरेका हुन् । प्रत्येक नगरपालिकालाई दुई ओटा थर्मल गन, दुई सय जोर पञ्जा, सर्जिकल मास्क दुई सय थान र स्यानिटाइजर सहयोग गरिएको हो ।

कार्यक्रममा खैरहनी नगर उपप्रमुख सुनिता खरेल थपलिया, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, मानव अधिकार समूह खैरहनीका संयोजक विष्णुप्रसाद बास्कोटाको उपस्थिति रहेको थियो । सहयोग हस्तान्तरण गर्दै इन्सेक प्रदेश संयोजक कृष्ण गौतमले आगामी दिनमा पनि सहयोगको लागि इन्सेक तयार रहेको बताए ।

राप्ती नगरपालिकामा भएको कार्यक्रममा नगर प्रमुख प्रभा बराल, नगर उपप्रमुख ईमान सिं लामा, नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक राममणी सिलवाल, मानव अधिकार समूह राप्तीका संयोजक चन्द्रदेवी तामाङ, उप संयोजक मित्र पोखरेल लगायतको उपस्थिति रहेको थियो । स्वास्थ्य सामग्री ग्रहण गर्दै जनप्रतिनिधिहरुले महामारीको बेला गरिएको उक्त सहयोगबाट कोरोना बिरुद्ध लड्न स्थानीय तहलाई बल पुगेको प्रतिक्रिया दिए ।