Photo: Google

अनिल पराजुली/कतारः कतारमा आज ९ सय १८ जना कोरोना भाइरस (कोभिड–१९)का संक्रमित फेला परेका छन् ।

कतारको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३२ जनाको जाँच गर्दा ९ सय १८ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै कतारमा संक्रमितको संख्या १८ हजार ८ सय ९० पुगेको छ ।

बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण कतारमा संक्रमितको संख्या प्रत्येक दिन थपिदै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म दुई हजार २ सय ८६ जना निको भएर घर फर्किएका छन् । आज मात्रै २ सय १६ जना संक्रमित निको भएर फर्केका हुन् ।

१६ हजार ५ सय ९२ जना कोरोना संक्रमित बिरामीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार भईरहेको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा अहिले सम्म १ लाख १६ हजार ४ सय ९५ जनाको कोरोना जाँच भएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ । कतारमा कोरोना संक्रमित मध्ये ७२ जनाको अवस्था भने गम्भिर रहेको वल्डोमिटर्सले जनाएको छ । कतारमा हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

कोरोना संक्रमितको संख्या थपिँदै गएपछि संक्रमित र आशंका गरिएका विरामीहरुलाई राख्ने ठाउँ समेत अपुग हुन थालेको छ । थपिएका बिरामीहरु क्वारेन्टाइनमा बसेका र केही नयाँ व्यक्तिहरु रहेका छन् । उनीहरु मध्ये धेरैजसो आप्रवासी नागरिकहरु छन् । कतार सरकारले कुन देशका संक्रमित नागरिक कति रहेको छ भन्ने तथ्याङक भने सार्वजनिक गरेको छैन ।