लघुचलचित्र ‘मे वान’मा श्रमिकको पीडा बोकेको कथा समेटिएको बताइएको छ । ‘मे’ दिवसका अवसरमा ‘मे वान’ नामको लघुचलचित्र सार्वजनिक गरिएको हो ।

विश्वव्यापी कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले लागू गरेको लकडाउनका समयमा सबैभन्दा बढी मारमा श्रमिकहरु परेका छन् । निर्माण पक्षका अनुसार यसै विषयलाई लिएर सन्देशमुलक लघुचलचित्र ‘मे वान’ बनाइएको हो । ‘मे वान’ लघुचलचित्रमा मकवानपुरकी कलाकार दीपज्योति थापा, अनितजंग पाण्डे, बिराज दुलाल र भोला सुवेदीको अभिनय छ । काम गरेबापत पारिश्रमिक नपाएको पीडा पनि यस लघुचलचित्रमा देखाइएको छ ।

हरेक क्षेत्रमा श्रमशोषण हुने गरेको भन्दै सांकेतिक रुपमा एउटा पात्रलाई र कथालाई लिएर ‘मे वान’ निर्माण गरिएको निर्देशक पुरुषोत्तम बस्नेतले बताए । निर्देशक बस्नेतले भने, “मजदुरका नाममा राजनीति मात्र होइन, उनीहरुको वास्तविक समस्या पनि समाधान गरौं । श्रमको मुल्य तिरौं, श्रमिकको इज्जत गरौं । यसको सांकेतिक प्रस्तुती यो लघुचलचित्र हो ।”

अनिलकुमार महर्जनको सम्पादन रहेको ‘मे वान’ लघुचलचित्रको कास्टिङ डाइरेक्टर बसन्त अधिकारी हुन् । कपिल खड्का र भोला सुवेदीको छाँयांकन तथा नेसन मिडिया ग्रुप प्रालिको निर्माण रहेको यो लघुचलचित्र नेसन टिभी नेपाल युट्युब च्यानलमा अपलोड गरिएको छ ।