राहुल गुप्ता/बीरगंजः ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले बीरगंज महानगरपालिकाका सरसफाई कर्मीहरुलाई प्रोत्साहनका लागि सम्मान गरेको छ ।
कोभिड–१९ (कोरोना) भाईरसको कारण बिश्वको जनजीवन त्रासमय भइरहेको अवस्थामा नेपालमा पनि यसबाट बच्नको लागि सरकारले चैत्र ११ गतेदेखि लकडाउन गर्दै आईरहेकोमा सम्पुर्ण उद्योग, कलकारखाना, यातायात, व्यवसाय, कृषि, पर्यटन व्यवसाय र शैक्षिक क्षेत्र समेत बन्द रहेको छ । बीरगंजमा पनि कोरोना भाईरस संक्रमितहरु देखा परेको अवस्थामा महामारीको जोखिम तथा संक्रमण दिनानुदिन बढ्दै गइरहेको बेला बीरगंजमा सरसफाईको काम भने रोकिएको छैन ।
हरेक दिन आफ्नो ज्यानको बाजी राखेर बीरगंज महानगरपालिकाका सरसफाई कर्मीहरु दिन रात लागिपरेको भन्दै उनीहरुको मनोबल र हौसला बढाउन प्रोत्साहन स्वरुप ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले शनिबार उनीहरुलाई खादा ओढाएर फूलको गुच्छा दिएर सम्मान गरेको केन्द्रका अध्यक्ष प्रकाश खेतानले जानकारी दिए ।
ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रहरी चौकी आदर्शनगरका प्रमुख प्रहरी नायब निरीक्षक सूर्य नारायण चौधरी तथा बीरगंज महानगरपालिकाका सरसफाई शाखा प्रमुख सर्फुदिन मियाको प्रमुख आतिथ्यमा रहेको थियो ।
ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका पदाधिकारीहरु मुकेश खेतान, बिकाश रुङ्ग्टा , कैलाश बजाज, गिल्पेक चन्द्र दारुका, चन्द्र अग्रवाल, रेडियो बीरगंजका कार्यकारी निर्देशक धुर्व साह, सन्चारकर्मी आरके पटेल, धिरज दारुका, शिव गुप्ता, छोटेलाल प्रसाद कुसवाह लगायतको सहभागिता रहेको थियो ।